नक्कली भ्याट बिल प्रकरणमा संलग्न उद्योगपति-व्यापारीलाई के गिरफ्तारीको डरले सताउन थालेको छ ? अघिल्लो साता उद्योगपति-व्यापारीले अर्थ मन्त्रालयका हाकिमहरुसँग गरेको रमझमले यही कुराको संकेत गरेको छ।
नक्कली भ्याट बिल काण्डमा मुछिएका मारवाडी समुदायका ठूला हस्तीहरूले अघिल्लो साता अर्थका हाकिमहरुलाई भेटेका थिए। लाजिम्पाटस्थित स्काउट कम्पाउन्डमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले व्यापार गर्ने टोयोटाको सोरुम छ, त्यसैको माथिल्लो तलामा प्रमोद जैसवालले मेला रेस्टुरेन्ट सञ्चालन गरेका छन्। भारतीय खाना पाइने यो रेस्टुरेन्टमा गोप्य भेटघाटका लागि तीनवटा ‘प्राइभेट रुम’ बनाइएको छ।
यिनै रुममध्ये ट्वाइलेटछेउको रुममा दुई हाकिमसँग व्यापारीले गोप्य भेट गरेका थिए। ब्ल्याकलेबल मदिरा लिँदै सुरु भएको छलफलमा विशाल समूहका त्रिलोकचन्द्र अग्रवाल, शशिकान्त अग्रवाल, गोल्छा समूहका शेखर गोल्छा, शंकर समूहका शंकर गोल्यान, लक्की समूहका साझेदार रमेश गुप्ताको उपस्थिति थियो।
छलफलका क्रममा व्यापारीले सरकारबाट गिरफ्तारीको आदेश आए कम्तीमा सूचना दिन अनुरोध गरेको बताइन्छ। केही दिनअघि अर्थमन्त्री वर्षमान पुनले नक्कली भ्याट बिल प्रकरणका दोषीलाई आवश्यक परे गिरफ्तार गरेर छानबिन गर्न सकिने बताएपछि व्यापारीहरू झसंग भएका थिए।
त्यसलगत्तै व्यापारीहरूले लाजिम्पाटमा र्याडिसन होटलपछाडि पूर्वप्रधानसेनापति प्रज्वलसमशेर राणाको छिमेकी रहेका त्रिलोकचन्द्र अग्रवालको घरमा विनामदिरा बैठक गरेका थिए। हायात होटलमा मदिरा खाएर कुरा चुहिएजस्तै अग्रवालको घरमा बसेको बैठकको सूचना लिक नहोस् भन्नका लागि सीमित व्यापारीलाई बोलाइएको थियो।
अग्रवालको घरमा बसेको बैठकले राजनीतिक दलका नेता, प्रहरी अधिकृत र पत्रकारसँग सम्बन्ध सुधार्ने निर्णय गरेको थियो। लगत्तै चौधरीले एउटा वेबसाइटको रिलन्चिङ भन्दै होटल एभरेस्टमा, मुस्ताङमा बजाज सोरुम खोलेको उपलक्ष्यमा गोल्छा समूहले होटल हायातमा, स्लोभाकियाको मन्त्री नेपाल आएको उपलक्ष्य पारेर मोरङ अटो वर्क्सका विष्णु अग्रवालले होटल सोल्टीमा पत्रकारलाई भोज दिइसकेका छन्।
अग्रवालको घरमा भएको सहमतिबमोजिम नै मारवाडीहरूले हाकिमहरुलाई मेलामा भेट गरेका थिए। अर्कोतर्फ केही व्यापारीले बिना पैसा र केहीले पैसा तिरेर नक्कली भ्याट प्रकरणमा आन्तरिक राजस्व विभागको अनुसन्धानलाई चुनौती दिएपछि अनुसन्धान अधिकृतहरू रुष्ट भएका छन्।
स्रोतका अनुसार, विभागका अनुसन्धान अधिकृतलाई बयान दिने सबै व्यापारीले नक्कली भ्याट बिल बनाएर राजस्व छलेको भन्दै अन्तिमपटकका लागि माफी दिन आग्रह गरेका थिए। केही व्यापारी विभागमा बयान दिँदा रोएकासमेत थिए। सबैभन्दा बढी राजस्व छलेको शंकर समूहका निर्देशक साहिल अग्रवाल बयान दिँदा डाँको छोडेर नै रोएका थिए। उनले बयानका क्रममा गल्ती स्वीकार गर्दै आइन्दा राजस्व छली नगर्ने वाचा गरेको बताइन्छ।
गोल्छा समूहका निर्देशक शेखर गोल्छा पनि विभाग पुगेर अबदेखि राजस्व छली नगर्ने वाचा गर्दै सुँक्क-सुँक्क रोएका थिए। विभागले बयान दिन बोलाएपछि उनले आफ्ना कर्मचारीलाई वारेसनामा दिएर पठाए। ती कर्मचारीले बयान दिएपछि शेखर आफैं गाडी हाँकेर विभाग पुगेका थिए। -‘जनआस्था’बाट
के हुँदैछ भ्याट कान्ड?
भ्याट कान्डमा राजस्व अनुसन्धान विभागले शंकास्पद ५ सय १८ फर्मको अनुसन्धान गरेकोमा ३ सय ६५ फर्मको अनुसन्धान पूरा गरिसकेको छ। र ती फर्महरुबाट १ अर्ब ९१ करोड रुपैयाँ भ्याट तिराउने निर्णय भएको छ। ठूला औद्योगिक घरानाहरुले अरु नै मान्छेको नाममा दर्ता भएका स-साना फर्महरुबाट किन्दै नकिनेको सामान किनेको जस्तो देखाएर नक्कली भ्याट बनाई राजस्व ठगेको देखिएको छ। चौधरी ग्रुप जस्तो ठूलो कम्पनीले पत्याउनै नसकिने फुच्चे फर्महरु, जसका सञ्चालक भनिएका मान्छेहरु मलेसियामा रोजगारीका लागि गइरहेका छन्, त्यस्तो फर्महरुबाट सामान किनेको भन्दै भ्याट छलेको देखिएको अनुसन्धान स्रोत बताउँछ।
विभागले अनुसन्धान पूरा गरी जरिवाना तिराएका मध्ये १९ फर्मले राजस्व न्यायाधिकरणमा पुनरावेदन गरेका छन्। अब त्यसबाट टुंगो नलागेसम्म यो मुद्दा यत्तिकै थाती रहन्छ। को-को ठूला व्यापारी गएका छन् त पुनरावेदनका लागि ?
जगदम्बा स्टिल- शंकर ग्रुप- उत्पादन जगदम्बा छड र सिमेन्ट उत्पादन- २४ करोड १ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
बरुण वेभरेज नेपाल- उत्पादनः पेप्सी, मिरिन्डा आदि- ३ करोड ४ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स- निर्माण व्यवसाय, त्रिपुरेश्वरको UWTC चलाउने- ३ करोड ४३ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
युनाइटेड डिस्ट्रिब्युटर्स एन्ड इन्जिनियर्स प्रालि- विशाल ग्रुप-सञ्चार, बैंकिङ, उत्पादन क्षेत्र र ट्रेडिङमा लगानी- ३ करोड २२ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
मोरङ अटो वर्क्स इन्टरप्राइजेज- यामाहा लगायत मोटरसाइकल बेच्ने- २ करोड १७ लाख रुपैयाँ भ्याट तिर्नुपर्ने निर्णय
सिजिजिसी चमेलिया-चमेलिया जलविद्युत आयोजना-१ करोड ८१ लाख रुपैयाँ भ्याट तिराउने निर्णय
अरुण इन्टरकन्टिनेन्टल, एआइटी प्रालि, सिजी इम्पेक्स र सिजी इलेक्ट्रोनिक्स प्रालि- चौधरी ग्रुप- ३ करोड ६० लाख रुपैयाँ भ्याट तिराउने निर्णय
हिम इलेक्ट्रोनिक्स- गोल्छा समूह-१ करोड ७० लाख रुपैयाँ तिराउने निर्णय
द एक्सप्लोर नेपाल-होटल, ट्राभल एजेन्सी- १ करोड २७ लाख रुपैयाँ
News Courtesy: My Sansar






jailed them n make them to pay hefty fine so no one ever will be do the same mistakes again even in theirs dreams !!