हनुमानढोका दरबार क्षेत्रमा जीर्णोद्धार अभियान

admin November 10, 2011 0
हनुमानढोका दरबार क्षेत्रमा जीर्णोद्धार अभियान

काठमाडौ, कार्तिक २१ – लामो समयदेखि उपेक्षित र जीर्ण अवस्थामा रहेको हनुमानढोका दरबार क्षेत्रको मल्लकालीन मन्दिर र सतलको जीर्णोद्धार अभियान सुरु भएको छ ।

‘एक/दुई मन्दिर मात्र नभएर यो क्षेत्रमा मासिन लागेका सम्पदालाई शृंखलाबद्ध रूपमा संरक्षण गर्ने कार्यक्रम अघि बढेको छ,’ महानगरपालिकाको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले भने । उक्त क्षेत्रमा लिच्छविकाल, मल्लकाल, राणाकाल र शाहकालमा निर्मित धार्मिक, सांस्कृतिक, वास्तुकला र काष्ठकलाले भरिपूर्ण सम्पदा छन् ।

उपत्यकाको सात संरक्षित क्षेत्रमध्ये सबभन्दा ठूलो यो क्षेत्रलाई खुला सग्रहालयको रूप दिन सबै संयन्त्र जुटेको श्रेष्ठले बताए । विसं १६९८ देखि १७३१ सम्ममा राजा प्रतापमल्लले सुन्दरी चोक, नासलचोक, भण्डारखाल बगंैचा, कृष्णमन्दिर, मोहनचोक, कालभैरव र कवीन्द्रपुर आदिको निर्माण गराएका थिए ।

त्यस्तैगरी राजा पार्थिवेन्द्र मल्लले विसं १७३७ मा त्रैलोक्य मोहननारायण मन्दिर (दस अवतार) र विसं १७४६ राजमाता ऋद्धिलक्ष्मीबाट माजुदेवल मन्दिर निर्माण भएको थियो । सहरको मुटुमा अवस्थित यो दरबार तत्कालीन मल्ल राजाहरूले बनाएको राजकीय बासस्थानका रूपमा प्रसिद्ध छ ।

पहिलो चरणमा मण्डप शैलीको उत्कृष्ट नमुना काष्ठ मण्डपको पूर्व-दक्षिणस्थित तीनतले दस अवतार र कवीन्द्र मन्दिरको २७ लाख ३७ हजार ९ सय ४८ रुपैयाँ लागतमा जीर्णोद्धार भइरहेको छ । गत कात्तिक १४ मा ९ लाख ६८ हजार ९ सय ५६ रुपैयाँमा दस अवतार मन्दिरको र यसअघि गत असोज २६ मा १७ लाख ६८ हजार ९ सय ९२ रुपैयाँमा कवीन्द्रपुर मन्दिरको मम्र्मत सुरु भएको हो ।

वैष्णव परम्परामा आधारित दस अवतार मन्दिरलाई वर्षको एक पटक इन्द्र जात्राको दिनमा खोलिन्छ । यो दिन यहाँ दस अवतारको नृत्य हुन्छ । राजा प्रताप मल्लको उपनाम ‘कवीन्द्र’ बाट नामकरण गरिएको कवीन्द्र मन्दिरमा विभिन्न देवीदेवताका मूर्ति र चित्र छन् ।

‘दुवै मन्दिरको जीर्णोद्धार माघसम्म सकिनेछ,’ कार्यक्रमकी आर्किटेक्ट एवं साइट इन्जिनियर आस्था श्रेष्ठले भनिन् । उनले मरु सिंह सत्तल, माजु डेग, नारायण र विष्णु मन्दिरको जीर्णोद्धारका लागि टेन्डरको प्रक्रिया अघि बढेको बताइन् । जीर्णोद्धारको प्राथमिकतामा हालैको भूकम्पबाट क्षतिग्रस्त नारायण मन्दिरसमेत परेको छ । विश्व सम्पदा सूचीमा परेको हुनाले पुरातत्त्व विभागले तय गरेको निर्माण सहिंता र निर्देशन अनुरूप महानगरपालिका अघि बढेको उनले बताइन् ।

विशेषज्ञ राखेर जीर्णोद्धारको तरिका तय भएको र त्यो अनुरूप दरबारको भित्री भागको हनुमान ढोका संग्रहालय विकास समितिले र वाह्य भागको महानगरपालिकाले संरक्षण गरिरहेको विभागका महानिर्देशक विष्णुराज कार्कीले बताए । इतिहासदेखि वर्तमानसम्म विभिन्न खालका प्राकृतिक विपदले मन्दिर र सत्तल जीर्ण बनेको उनले बताए ।

‘इतिहास पढेर र बुझेर जे हेर्नलाई ठूलो संख्यामा पर्यटक र विद्यार्थी ओर्लिन्छन् ती सम्पदाको स्थिति त दुरुस्त राख्नैपर्छ,’ महानिर्देशक कार्कीले भने, ‘अनि मात्र पर्यटकबाट मोटो शुल्क उठाउँदा उचित हुन्छ ।’ दरबारको बाह्य भागमा कुमारीघर, माजुदेवल मन्दिर, जगन्नाथ मन्दिर, कालभैरव मन्दिर, काष्ठमण्डप, त्रैलोक्यनारायण मन्दिर (दस अवतार)  शिव-पार्वती मन्दिर र सिंहसत्तल (सिल्यसत्तल) छन् ।

 

Leave A Response »