विश्वासदीप तिगेला, ब्रुनाई
लुक्लामा पर्यटकहरुको विजोग भन्ने समाचारले मेरो मन भतभत पोलिरहेको छ । पर्यटक भन्नाले बाहिर देशका पाहुनाहरु, बाहिर देशकाहरु आआफ्नो काममा असाध्य ब्यस्त हुन्छन् । कामको बोझबाट थाकेकाहरु केही समय मिलाएर आराम गर्न, मनोरन्जन लिन नेपालको विभिन्न ठाँउहरुमा घुम्न आएका हुन्छन् । उनीहरुको लागि एक मिनेट समय पनि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई नै खराब मौषमको कारण हप्तौ लुक्लामै रोकेर राख्नु के जायज होला ?
संयोगवस गत बैशाखको तेस्रो हप्ता -१९ बैशाख – २ जेठ २०६८ तदनुसार २ मे – १७ मे २०११) आफ्नै जन्मभूमि नेपालमा ब्रुनाईबाट पर्यटकको रुपमा लुक्ला हुँदै सगरमाथा वेस क्याम्प र कालापत्थरसम्म पुग्ने अवसर पाएको थिएँ । लुक्ला, फाकदिन, जोरसाल, नाम्चे, ट्याङबोचे, फेरिचे, थक्ला, लबुचे, गोरक सेप हुदै वेसक्याम र ५ हजार ५ सय ४५ मिटर उचाईको कालापत्थर पुग्न सकिन्छ । उचाईको हिसावले वेसक्याम भन्दा कालापत्थर १ सय ८१ मिटर अग्लो भएकोले यसको महत्व बेग्लै छ । सामान्य ट्रेकिङ टुरिष्टहरु त्यहिँसम्म पुग्ने गर्दछन् । सगरमाथाको शिखरमा चढ्नको लागि भने प्रावधान र ब्यवस्थापन बेग्लै छ ।
संसारको सबैभन्दा उच्चस्थान सगरमाथा चढ्न र त्यसको फेदीसम्म ट्रेकिङ जानेहरुले प्रायः शतप्रतिशतले नै लुक्ला हवाई मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । संसारको सबैभन्दा जोखिमपूर्ण एयरपोर्ट लुक्ला अवतरण गर्नु अगावै देखिने दृष्यहरु अत्यन्तै सुन्दर छन् । संसारमा सायदै यस्तो दृष्य देख्न पाइन्छ । आफ्नै देशमा यति सुन्दर ठाँउहरु देखेर खुसिले मेरो आँखा टिल्पिलायो । विहान साढे ७ बजे आकास खुलेको थियो । घामका किरणले लुक्लालाई छुँदै थियो । हामी लुक्लामा उत्रियौ र नाम्चेतर्फ बाटो लाग्यौ । पर्यटकहरुको बाक्लो उपस्थिती र बाटोको दायाँवायाँ देखिने सुन्दर सफा दृष्यहरुले नेपाल होइन कि जस्तो भान हुन्थ्यो । विकसित युरोप, वाल्कन मुलुक झंै लाग्थ्यो । कतैकतै भारतको उत्तरखण्ड राज्यको पिन्दारी ग्लेसियर झै देखिन्थ्यो । म यतिसम्म भन्न सक्छु सगरमाथा इलाकाका ग्लेसियर नपुगेकाहरुले हाम्रो देशमा यति सुन्दर ठाँउहरु छन भनेर कल्पना समेत गरेका हुँदैनन् ।
बाटोमा भेटिने ठूल्ठूला ढुङ्गाहरुमा कुदिएका बुद्ध मन्त्रहरु अति रोचक देखिन्थे, बाटोको छेउमा भेटिने टिमुर, तितेपाती लगायतका नयाँ पालुवा, जंगलैभरी उन्माद फूलेका गुराँसहरु, विभिन्न प्रकारका चराचुरुङ्गीहरु, स्याउका फूलहरु, उब्जाउशिल पाखा कान्लाहरुमा हलहल हुर्किएका सागसब्जी, स्थानियवासीहरुको बोलाइलो आफन्तपन, आँखै भरीको सफा र स्वच्छ हिमाल, याक, खच्चरहरुको लर्को, भरियाहरुका आनन्दको दुःख, थाप्लोको नाम्लोसंगै दोहोरी र मायापि्रतिका गीतहरु मोवाइलको सेटबाट कानकानमा गुन्जिएको पाउँदा म खुसिले भुतुक्कै भए । मोबाइल आविष्कार गर्ने, सस्तो मोवाइल बनाउने र मोवाइल नेटवर्क विस्तार गर्ने सबैलाई धन्यवाद दिएँ । लामो बाटोमा साथिहरुसंग जनजीवनमा मोबाइलले पारेको प्रभाव सम्बन्धमा छलफल पनि भयो । आधुनिक र शहरियाहरुको समृद्ध जीवन भन्दा भरियाहरुको सिधा, निश्कलङ्क र आनन्दको जिन्दगी देखेर मलाई ईश्या लाग्यो । हामी उकालो र जंगलै जंगल हिड्थ्यौ तर प्रत्येक बिसौनीमा फुटबल, टेनिस, गल्फ आदि खेलको रिजल्ट मोवाइलमा हेथ्र्यौ । स्काइपीबाट घरमा सम्पर्क गथ्र्यौ । हामी ७ जना नेपाली थियौं र ५ जना विदेशी जो हामीसंगै काम गर्थे । उनीहरु त्यो दुर्गम ठाँउमा ती सुविधा देखेर चकित भए । हामी सधै तिनै विदेशी सहकर्मी साथिहरु थियौ, त्यसैले हामीलाई धेरैले गाइड भन्थे, धेरै ठाँउमा हामीलाई गाइड भनेर डिस्काउन्ट पनि दिए । नेपालीहरु टुरिष्ट अर्थात आन्तरिक टुरिष्ट हुन सक्छन भन्नेबारे साधारणलाई ख्यालसम्म भएको पाइएन ।
काठमाडौंबाट लुक्ला प्रस्थानपूर्व कति खर्च बोक्ने भन्ने सम्बन्धमा राम्रो जानकारी नभएको र फाकदिनमै एक लिटर उम्लिएको पानीलाई रु ३ सय तिर्नुपर्ने, नुहाउने पानीको लागि पनि रु ५ सयसम्म तिर्नुपर्ने अवस्थाले भने हामी तर्सियौ । नाम्चे बजारमा विभिन्न लुगाफाटाहरु ओर्जिनल पाउनु, नाम्चेका पप, रेष्टुरेष्टहरु यूरोप स्टाइलको पाउँदा भने गजबै लाग्यो । नाम्चे नजिकैको बस्ति खुम्जुङ र खुम्दे भ्यालीको दृष्य अविश्मरणिय रह्यो । ट्याङबोचे जंगलको गुराँहरुले डाँडै ढाँकेको झनै मनमोहक लाग्यो । पुमरी हिमाल, आमा डब्लन, तुत्से र सगरमाथाको सुन्दरता बर्णन गरि नसक्नुको थियो ।
एउटा रोचक प्रसंग – नाम्चेदेखि झण्डै ३ किलोमिटर उकालो बाटोमा एकजना ७१ बषिर्य पासाङ शेर्पा विगत ५१ बर्षदेखि सगरमाथा जाने बाटो बनाई रहेका छन् । उमेर छँदा आफै बाटो खन्ने तर पाको भएपछि बाटोमा चन्दाको बाकस राखेर बस्छन र पर्यटकले दिएको दुईचार पैसा भेला गरेर अरुलाई बाटो खनाउँछन् । उनले खनेका बाटो कतिपय ठाँउमा भत्किसकेका छन् यद्यपी उनले त्यो कामलाई निरन्तरता दिएका छन् । उनको त्यो कामबाट पनि हामीले पाठ सिक्न सक्छौ ।
हामी बेसक्यामबाट फर्किएर नाम्चे आइपुग्यौ र हाम्रो यात्रामा केके देख्यौ, कस्तो लाग्यो ? यस क्षेत्रको राम्रो पक्ष केके हुन ? नराम्रो पक्ष केके हुन र सुधार गर्नुपर्ने कुराहरु के के हुन बुंदागत टिपे र साथिहरुसंग पनि छलफल गरे ।
बाटोको ठाँउठाँउमा सफा पिउने पानीको ब्यवस्था गर्नुपर्ने । विभिन्न ठाँउहरुमा हेल्थ क्लिनीक राख्नुपर्ने । बाटोको ठाँउठाँउमा मौसम सूचना राख्नुपर्ने । थोक तथा सामानको मूल्य सुपथ र एकरुपता हुनुपर्ने । फेरिचेमा सधै कम्तिमा एउटा इमर्जेन्सी उद्धारको लागि हेलिकप्टर राखिनु पर्ने । फेरिचे वा खुम्जुङसम्म गाडीको बाटो अविलम्ब बनाउनुपर्ने साथै लामो ट्रेकिङको बाटोलाई पनि यथावत राख्नुपर्ने । स्याङबोचे विमानस्थललाई अझ सुधार र प्रयोग गर्नुपर्ने । खुम्जुङ र फेरिचेमा पनि एयरपोर्ट बनाउदा उत्तम हुने । हिमालको आरोहण अत्यन्तै गाह्रो कार्य भएकोले सगरमाथा राष्ट्रिय निकुन्ज प्रवेशद्धारमा सबै धर्मका एकै आकारका मन्दिरहरु निर्माण गर्ने जसले गर्दा आ-आफ्नो विश्वासका भगवानलाई शक्ति मागेर आरोहण गर्न जान पाउनेछन्, त्यसले पर्यटकलाई झनै लोभ्याउने छन् । गाइड तथा भरियाहरुलाई अझ सक्षम र ब्यवस्थित गरिनु पर्ने । सगरमाथा वेसक्याम र कालापत्थरको चुचुरोमा ठाँउको नाम र उचाई समेत उल्लेख गरेर फोटो खिच्ने ठाँउ बनाई दिने, किनकी त्यहा जाँदा कहाँ गइएको हो कुनै जानकारी छैन् र महशुस नै हँदैन । अन्य मुलुकहरुमा त्यस्ता महत्वपूर्ण स्थानमा साइनबोर्ड वा जानकारी राखिएको हुन्छ । कालापत्थरको चुचुरो अति नै खतरनाक भएकोले पर्यटकलाई चढ्न नदिने तर त्यहाबाट सगरमाथा र सगरमाथा चढ्दै गरेकाहरुलाई मज्जाले देखिने भएकोले कलापत्थरमा दुरवीनको ब्यवस्था गर्ने । बाटोहरु अझ फराकिलो बनाउने र अप्ठेरा ठाँउहरुमा छेकबार लगाउने साथै खच्चर, घोडा, चौरीहरुको दिसाले बाटोमा दुर्घन्ध भइरहेकोले ब्यवस्थित तरिकाले सफा गर्ने । झण्डै ४ हजारको उचाइमा रहेको पानबोचेको खोला पारीको भिरालो भूभागलाई हिउँमा खेलिने स्की खेलको लागि अध्ययन गर्ने ।
अप्ठ्यारो भएकोले नै चुनौतीपूर्ण छ, चुनौतीपूर्ण भएकोले नै त्यहाँ पुग्नुलाई गौरवपूर्ण कार्य मानिन्छ त्यसैले सबैको सपना र आकर्षण रहेको हुन्छ । सगरमाथाको वेसक्यामसम्म गाडी बाटो लैजादा प्रदुषणको कारणले असर रहन सक्दछ यद्यपी चीनले उसको पाटोबाट नजिकै बाटो पुर्याएको छ । गाडीको बाटो नपुर्याउँदा बर्षमा २ लाख पर्यटक आउँछन् भने गाडीको बाटो पुर्याउदा १० लाख आउन सक्दछ भन्ने कुरालाई हामीले विर्सन हुन्न किनकि जति सुविधा र छिटो हुन्छ त्यति नै धेरै पर्यटकहरु आउँछन् । यदि अहिले त्यो बाटो भईदिएको भए हालै समाचारमा आएको जस्तो पर्यटकहरुको विजोग हुने थिएन । वास्तवमा हामीले उनीहरुलाई मौषमको कारण देखाउँदै जर्बरजस्त लुट गरिरहेका छौं । त्यसैले परिवर्तनकामी सरकारले अविलम्ब गाडीको बाटो आवश्यक ठाँउ सम्म लैजानु पर्दछ ।
लुक्ला एयरपोर्ट विश्वकै जोखिमपूर्ण मात्र होइन एकदमै अनुपयुक्त ठाँउको एयरपोर्ट भन्दा गलत हुँदैन । लुक्ला एयरपोर्ट मौषम खुलेको बेला मात्र संचालन हुने र नाम्चे शिरमा रहेको श्याङबोचे एयरपोर्ट पनि मौषम राम्रो भएको बेला संचालन हुने भएकोले उस्ताउस्तै हो । अझ श्याङबोचेको ठाँउ खुल्ला र फराकिलो साथै कम जोखिमपूर्ण छ । सुन्नमा आए अनुसार केही राजनैतिक पहुँचवालाहरुले जब्बरजस्ती लुक्ला एयरपोर्ट निर्माण गरि संचालनमा ल्याएको र त्यसलाई अन्यत्र सार्न नदिइएको हो । लुक्ला हुँदै नाम्चेसम्म जाने बाटोहरुमा राम्रै पूर्वाधार तयार भएको छ यद्यपी हामीले एकदुई सय ब्यक्तिहरुको फाइदा होइन, सिंगो मुलुकको इज्जत र फाइदालाई हेर्नुपर्दछ । आधुनिक विश्वलाई पछ्याउनु पर्दछ, त्यसैले जस्तोसुकै समस्याको बाबजुद पनि सुधार र परिवर्तन गर्नै पर्दछ र तत्कालै चाहि न्यूनतम गाडीबाटो नाम्चे वा खुम्जुङसम्म पुर्उनु पर्दछ । त्यस्तैगरि श्याङबोचे एयरपोर्टलाई थप सुधार गरी नियमित संचालनमा ल्याउनु पर्दछ ।
हामीलाई अवगत हुनुपर्दछ कि समयमै काठमाडौं र्फकन नसकेका कारण कति पर्यटकहरुको काठमाडौदेखि आफ्नो देश र्फकने फ्लाइट छुटेका होलान । समयमै आफ्नो काम, कार्यालयमा नपुग्दा कतिको ब्यापार चौपट भएका होलान् ? कतिले जागिर गुमाउदै होलान् । कतिले महत्वपूर्ण परिक्षाबाट बंचित हुँदै होलान । बेखर्ची भएर कतिलाई लुक्ला रहन गाह्रो भएको होला । उनीहरुमा नेपालप्रति कस्तो अनुभूति भइरहेको होला ? यसको जिम्मेवार सरकार हुने कि नहुने ? किन कि लुक्ला नजिकको गाँउमा गाडी बाटो पुगिसकेकोले सरकारले चाहेमा केही महिना भित्रै नै गाडी बाटो लुक्ला मात्र होइन नाम्चे नै पुर्यान सक्दछ किन त्यो काम सरकारले गर्दैन ? भारी बोक्ने ५ सय श्रमजीवि र २ सय बाटोका ब्यापारी घरानाको ख्याल राख्नेहरुले हजारौ विदेशी पर्यटकहरुको बारेमा ख्याल राख्न पर्छ कि पर्दैन ?
वास्तवमा हामीले पर्यटकहरुलाई स्वागत र सुविधा दिनुपर्नेमा मौषम खराब भयो भन्ने निहुँमा लुट गरिरहेका छौं । आम पर्यटकहरुको जीवनमाथि खेलबाड गरिरहेका छौं । अब लुक्लाका सबै भरियाहरु ड्राइभर बन्नुपर्दछ । हजारौं पर्यटकहरु मात्र होइन दशौं लाख पर्यटक आउनु पर्दछ र सर्वसुलभ गाडिमा बेसक्यामसम्म पुग्नुपर्दछ । देशले जर्बरजस्ती लुटेर होइन, पर्यटकको मन, मुटु जितेर अरबौ पैसा कमाउन सक्छ ।
Courtesy: Online Khabar






wow very interesting and good article.. thanx for writer.i felt amazing taste about my nepal bt thousand of all us doesn’t know about our country as like me.. i also like to visit my nepal n different place when i will back to my county.