‘यही सरकारले राष्ट्रिय स्वरूप लिन्छ’

admin November 10, 2011 0
‘यही सरकारले राष्ट्रिय स्वरूप लिन्छ’

पार्टीभित्र बढिरहेको जग्गा फिर्तासम्बन्धी विवादलाई दुवै पक्षको अधिकार सुनिश्चित हुनेगरी समाधान गरिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे

काठमाडौं, २२ कात्तिक

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारको नेतृत्वमा शान्ति र संविधानको कार्यभार पूरा हुने बताएका छन् । विगत पाँच वर्षदेखि जारी शान्तिप्रक्रियामा गुणात्मक फड्को मारेको उल्लेख गर्दै प्रधानमन्त्री डा. भट्टराईले शान्ति र संविधानको प्रक्रिया सँगसँगै यही सरकारले राष्ट्रिय स्वरूप लिने दाबी गरे ।

‘सबैभन्दा ठूलो दलको नेतृत्वमा सबै पार्टी सहभागी भएर बन्ने सरकार नै वास्तविक रूपमा राष्ट्रिय सरकार हुन्छ । त्यो स्वभाविक पनि हुन्छ र त्यसले शान्ति र संविधानको कार्यभार पूरा गर्न सहज पनि हुन्छ,’ प्रधानमन्त्री डा. भट्टराईले सीमित पत्रकारहरूसित बालुवाटारमा कुरा गर्दै भने, ‘यही सरकारको नेतृत्वमा शान्ति र संविधानको कार्यभार पूरा हुन्छ । सबै पार्टी समेटेर उचित सत्ता साझेदारी गरेर अगाडि बढ्ने हाम्रो काम हुन्छ । शान्ति र संविधानको प्रक्रिया सँगसँगै यसले राष्ट्रिय स्वरूप लिँदै जान्छ ।’

पार्टीभित्र बढिरहेको जग्गा फिर्तासम्बन्धी विवादलाई दुवै पक्षको अधिकार सुनिश्चित हुनेगरी समाधान गरिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे । ‘मोही किसान र जग्गाधनी दुवैको अधिकार सुनिश्चित हुनेगरी जग्गा हस्तान्तरण प्रक्रिया टुंग्याइने छ,’ उनले भने, ‘जग्गाधनीको स्वामित्व कायम गर्दै मोही किसानको अधिकार पनि सुरक्षित राखी सहमति गर्ने भनिएको हो । दुवै पक्ष तरंगित हुनपर्ने अवस्था छैन ।’

शान्तिप्रक्रिया र संविधान निर्माणमा तपाईं प्रधानमन्त्री भएपछिको खास प्रगति के हो ?

कात्तिक १५ गते जुन सातबुँदे सहमति भएको छ, त्यसले शान्तिप्रक्रियालाई पूर्णता दिने र संविधान निर्माणको काम सक्नेगरी महत्त्वपूर्ण ढोका खोलेको छ । त्यसलाई कार्यान्वयन गर्ने कुरामा सरकार गम्भीर ढंगले अगाडि बढिसकेको छ । सेना समायोजनका लागि विशेष समितिको बैठकबाट हामीले एउटा कार्यतालिका बनाइसक्यौँ । पुनस्र्थापनामा जानेहरूका लागि पनि कार्यक्रम तय गर्दैछौँ । अब भोलिदेखि नै आन्तरिक तयारी गरेर दुई/चार दिनभित्र सर्वेक्षण टोली प्रत्येक शिविरमा जान्छ र समायोजनको प्रक्रिया व्यवहारतः सुरु हुन्छ । यो भनेको विगत पाँच वर्षदेखि सुरु भएको शान्तिप्रक्रियाको विकासमा एउटा गुणात्मक फड्को नै हो । यो महत्त्वपूर्ण उपलब्धि हो र हामी यसलाई पूर्णतामा पुर्‍याएर छाड्छौँ ।

अर्को संविधान निर्माणको पाटो छ, त्यसमा पनि केही समयभित्र ठोस प्रगति हुन्छ । विवाद समाधान उपसमिति बसेर राज्य पुनर्संरचनाका निम्ति सहयोग गर्नका लागि विशेषज्ञ समिति बनाउने निर्णय गर्‍यो । त्यहीअनुसार संविधान संशोधनका लागि सरकारका तर्फबाट प्रक्रिया अगाडि बढिसकेको छ । आउँदो २५ गते त्यसलाई पारित गरेर विशेषज्ञहरूको टोली बन्छ र संविधान निर्माणको प्रक्रिया पनि सुरु हुन्छ ।

विगत दुई/तीन वर्ष यतादेखि शान्ति र संविधानमा अवरुद्ध भएका जुन विषयहरू थिए, त्यसले अब अग्रगति लिन्छ । यो शान्ति र संविधानलाई पूरा गर्नका लागि निणर्ायक र महत्त्वपूर्ण विषय हो । यो महत्त्वपूर्ण कार्यभार हाम्रा अगाडि छ । यसै सन्दर्भमा वेपत्ताहरू, द्वन्द्वका क्रममा मारिएकाहरूको स्थिति पत्ता लगाउन सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग बनाउने कुरा छ । विधेयक अड्केर बसेको छ, त्यसलाई पारित गर्ने र आयोग बनाउने काम हुन्छ ।

जग्गा फिर्ता गर्ने विषयमा त पार्टीभित्र पनि चर्को विवाद छ नि ?

शान्तिप्रक्रियासँग जोडिएको अर्को विषय भनेको भूमिसँग जोडिएको विषय हो । हिजो द्वन्द्वकालमा मोही किसानहरू र जग्गाधनीका बीच विवाद सिर्जना भयो । कतिपय ठाउँमा किसानले जमिनको भोगाधिकार प्रयोग गर्दै आएका छन् । यसलाई पनि सहमतिले टुंग्याउने अवधारणाअनुसार तत्काल हामीले जुन मोही किसान हो, गरिब किसान हो, उनीहरूको हितलाई ध्यानमा राख्दै र जग्गाधनीको स्वामित्व पनि कायम राख्दै बीचको सहमतिको बाटो निकाल्दै छौँ । कतिपयले गलत ढंगले व्याख्या गर्ने गर्छन् । जग्गा फिर्ता गर्ने भनेको किसानलाई धपाउने र अलपत्र पार्ने भनेको होइन । यो भनेको हिजो द्वन्द्वकालमा कानुनी स्वामित्व एउटाको हुने र भोगचलन अर्काको हुने भयो । जुन दोहोरो अवस्था थियोे । त्यसलाई सहमतिले नै टुंग्याउने भनेका हौँ ।

भोलि समग्र रूपमा वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार गरेर कृषिमा आमूल परिवर्तन र रूपान्तरण गरेर जो जोताहा किसान हो उसलाई जमिनको मालिक बनाउने कुरा आयोगका आधारमा होला । भूमिसुधार आयोगले दिएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्दै जाला । सुकम्बासी, भूमिहीन किसानका निम्ति आवश्यक व्यवस्था सरकारले मिलाउँछ । तत्काल हल गर्ने भनेको स्वामित्वको विषय हो । भूमिहीनहरूले भोगचलन गर्दै आएका थिए र स्वामित्व अरूकै नाममा थियो । जसको नाममा स्वामित्व थियो, उसको स्वामित्व कायम गर्दै जो मोही किसान छन् उनीहरूको अधिकार पनि सुरक्षित राख्दै सहमति कायम गर्ने भनेको हो । दुवै पक्ष तरंगित हुनपर्ने अवस्था छैन । जग्गाधनीले पनि आफ्नो स्वामित्व प्राप्त गर्छ । जो मोही किसान हो, जग्गाको भोगचलन गर्दै आएको छ, उसले पनि मोही अधिकार र भोगचलनको अधिकार पाउँछ । दुवैलाई मान्य हुनेगरी समस्या हल गर्ने भनिएको हो । त्यसकारण यसमा कुनै पनि प्रकारको द्विविधा रहन आवश्यक छैन । यसको स्थायी हल भूमिसुधार नै हो । यो विषयमा सातबुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । दुवै पक्षले आशंका गनुपर्ने म आवश्यकता देख्दिन ।

किरण समूहले जग्गा फिर्ताको प्रतिरोध गर्नेजस्तो कुरा आएको छ त ?

सहमतिको बारेमा प्रर्याप्त जानकारी नभएर पनि यस्तो भ्रम भएको होला । सहमतिको यथार्थ के हो भन्ने कुरा स्पष्ट भएपछि विरोधको कुरा नआउला । तर, असहमति र आशंका त राख्न पाइन्छ । पार्टीभित्र फरक विचारहरू छन् । बहस, छलफल चलाउँदै अगाडि बढ्ने भन्ने हाम्रो सहमति छ । आगामी केन्द्रीय समिति बैठकले पनि हाम्रो अन्तरहरू कहाँ हुन् भन्ने छलफल गर्छ । मूलतः हाम्रो कार्यदिशामै असहमति भएको हुनाले त्यसैमा केन्दि्रत भएर बहस चलाउनुपर्छ भन्ने एउटा विषय छ । जुन असहमति छन् । तिनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुन्छ । परम्परागत जनवादी केन्द्रीयताको जुन सिद्धान्त छ, त्यो अपुग भएको अनुभूति भइरहेको स्थितिमा कसरी विस्तार गर्न सकिन्छ त भन्नेमा छौँ । असहमतिहरूलाई पनि कसरी राख्न सकिन्छ, असहमति व्यक्त गर्ने तरिका के हुनसक्छ त, त्यो विषयमा पनि हाम्रो छलफल केन्दि्रत हुन्छ । एउटा निष्कर्ष निकाल्छ । टुंगो लाग्न नसकेका विषयवस्तु हामीले महाधिवेशनमा पुर्‍याउँछौँ र त्यहाँबाट टुंग्याउँछौँ । यसले पार्टी एकढिक्का भएर अगाडि बढाउँछ ।

नयाँ सरकारको कुरा पनि उठेको छ नि ?

जहाँसम्म सरकारको नेतृत्वको कुरा छ, हाम्रो स्पष्ट सहमति के हो भने राष्ट्रिय सरकारको विकल्प छैन । शान्ति र संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सरकार चाहिन्छ भन्नेमा हामी सबैको सहमति छ । नेतृत्वको विषयमा हामी सबैको बुझाइ के हो भने सबैभन्दा ठूलो दलको नेतृत्वमा सबै पार्टी सहभागी भएर बन्ने सरकार नै वास्तविक रूपमा राष्ट्रिय सरकार हुन्छ । त्यो स्वभाविक पनि हुन्छ र त्यसले शान्ति र संविधानको कार्यभार पूरा गर्न सहज पनि हुन्छ । यही सरकारको नेतृत्वमा शान्ति र संविधानको कार्यभार पूरा हुन्छ । सबै पार्टी समेटेर उचित सत्ता साझेदारी गरेर अगाडि बढ्ने हाम्रो काम हुन्छ । शान्ति र संविधानको प्रक्रिया सँगसँगै यसले राष्ट्रिय स्वरूप लिँदै जान्छ ।

सातबुँदेमा हस्ताक्षर त गरियो, त्यो कार्यान्वयन हुन्छ कि हुँदैन, त्यो पनि मूल कुरा हो । त्यसकारण कार्यान्वयन जति अगाडि बढ्दै जान्छ विश्वासको वातावरण पनि बन्दै जान्छ र यो सरकारले राष्ट्रिय स्वरूप ग्रहण गर्दै जान्छ । माओवादीकै नेतृत्वमा शान्ति र संविधानको कार्यभार पूरा हुन्छ । त्यसपछि नयाँ संविधान बन्छ । त्यसले नयाँ प्रावधान गर्नसक्छ । त्यसपछि अरूको नेतृत्व पनि हुनसक्छ । अर्को संविधान भएपछि अर्कै संवैधानिक प्रक्रियाअनुसार यही सरकार भैरहन्छ भन्ने होइन । यो नै सबैभन्दा वैज्ञानिक कुरा हो । यसैमा सबैको सहमति हो ।

 

Leave A Response »