सशष्त्र द्वन्द्वमा राज्य र विद्रोही दुवैपक्षबाट हजारौं नागरिक बेपत्ता भए । भैरवनाथ गणसहित सरकारी ब्यारेकमा थुप्रै विद्रोहीलाई यातनासहित मृत्यु दिइयो । मानवअधिकार निकायबाट दोषी किटान गरिएका सैनिकहरू अहिलेपनि खुलेआम विचरण गरिरहेका छन् । दण्डहिनताको ग्राफ यति चुलिएको छ कि कानुनी राज्यको बोध कसैमा छैन । त्रासको त्यो विन्दुदेखि अहिलेसम्म मानवता र संवेदनाको संरक्षण कसैबाट हुन सकेको छैन । चलचित्र ‘वधशाला’ले यिनै तथ्यहरूलाई चित्रण गरेको छ ।
फागुनदेखि सुटिङ सुरु हुने सिनेमालाई ‘दासढुंगा’ निर्देशक मनोज पण्डितले निर्देशन र लेखन गर्दैछन् । चलचित्रको स्क्रिप्ट लेखन सुरु भएको छ । अभिनेता अनुप बराल र पुष्पराज पुरुष ‘वधशाला’को मुख्य भूमिकाहरूमा देखापर्दैछन् । ‘दासढुंगा’मा एक अनुसन्धानकर्ता बनेका बराल ‘वधशाला’मा भने निरङ्कुश सैनिक अधिकृतको भूमिकामा छन् जो मानवीय संवेदनामा रत्तिभर विश्वास गर्दैन । पुष्पराज एक बन्दीको भूमिकामा छन् जसले भैरवनाथ गणसहितका सैनिक ब्यारेकमा तत्कालिन विद्रोहीहरूले खेपेका चरम यातनाको प्रतिनिधित्व गर्छन् ।
‘केही तथ्यगत कृतिहरूमा चलचित्र आधारित हुनेछ । फिल्म राजनीति प्रेरित पनि होइन । मानविय संवेदना र मानवताको संरक्षणका लागि आवाज उठाउनु हाम्रो ध्येय हुनेछ’ निर्देशक पण्डितले भने, ‘यसले बेपत्ता नागरिकहरूको बारेमा स्पष्ट प्रश्न उठाउँछ । दण्डहिनताविरुद्ध आवाज बोल्छ ।’ चर्चामा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा आफ्नो सिनेमाले दवाव दिने पण्डितको विश्वास छ । अभिनेता बरालले ‘वधशाला’ आफ्नो प्रतीक्षित सिनेमा हुने बताए । ब्यावसायी सीता आचार्य सिनेमाकी निर्मात्री हुन् ।
Courtesy: Mero Cinema





