२४ काक्तिक, माल्दिभ्स । संयुक्त राज्य अमेरिकाले एकीकृत नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाउने प्रक्रिया थालेको छ ।
दक्षिण एशियाली सयोग संगठन (सार्क) को १७औँ शिखर सम्मेलनमा सहभागी हुन माल्दिभ्स पुग्नु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर दक्षिण एशिया हेर्ने अमेरिकी सहायक मन्त्री रोवर्ट ब्लाकले आतंकाकारी सूचीबाट हटाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन् । त्यस अवसरमा ब्लाकले आतंकाकारी सूचीबाट माओवादीको नाम छिट्टै हट्ने बताए । सहायक मन्त्री ब्लाकले दलहरुबीच भएको सातबुँदे सहमतिले माओवादीलाई आतंककारीको सूचीबाट हटाउने वातावरण बनेको बताएका थिए । सातबुँदे सहमतिको प्रसंशा गर्दै मन्त्री ब्लाकले नेपालको शान्तिप्रक्रियामा अमेरिकाको साथ र समर्थन रहने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीका स्वकीय सचिव वीश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार भेटमा ब्लाकले वर्तमान सरकारप्रति अमेरिकाको पूर्ण समर्थन रहेको बताएका थिए । माल्दिभ्सको अड्डु सिटी स्थित सांग्रीला रिसोर्टमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले पाँच वर्षसम्म अवरुद्ध शान्तिप्रक्रियालाई वर्तमान सरकारले सातबुँदे सहमतिमार्फत टुंगोमा पुर्याउन लागेको जानकारी ब्लाकले गराउनुभएको थियो । त्यस्तै प्रधानन्त्रीले पछिल्लो सहमतिले नेपालको शान्तिप्रक्रियामा ब्रेक ‘थ्रु’ भएको भन्दै सरकारको पहिलो लक्ष्य शान्तिप्रक्रिया नै भएको स्पष्ट गर्नुभएको बताइएको छ ।
News Courtesy: Online Khabar





