२४ कात्तिक, काठमाडौं । सातबुँदे सहमतिमार्फत ‘ऐतिहासिक काम गर्यौं’ भन्दै बालुवाटारबाट बाहिरिएका दलहरु फेरि पनि सत्ताकै कुर्सी वरिपरि घुम्न थालेका छन् । आफ्नै निर्धारण गरेको शान्ति प्रकृयाको कार्यतालिकालाई बिर्सेर बिदेश सयरमा लागेका नेताहरु ‘अब मेरो पालो’, ‘अब यति दिनमा सरकार ढल्छ,’ ‘यो सरकाको औचित्य सकियो’ भन्दै सत्ताको खेलमा लागेका छन् । नेपाली कांग्रेसका नेताहरुले सार्वजनिकरुपमै अब हाम्रो पालो हो भन्न थालेका छन् भने एमालेका नेताहरु अहिलेको सरकारको औचित्य सकिएको बताउन थालेका छन् ।
शान्ति प्रकृयाको काम अघि बढ्दै जाँदा राष्ट्रिय सहमतिको सरकार गठन प्रकृया पनि अगाडी बढाउने सातबुँदेमा कसम खाएका दलहरुले शान्ति प्रकृया अगाडी नबढाउँदै सत्ताको हानथाप गर्न लागेका छन् । नेताहरुका सार्वजनिक अभिब्यक्ति हेर्दा लाग्छ- त्ता परिवर्तनको सर्तबिना मंसिर १४ को खड्को कट्नेवाला छैन् । प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषद विस्तार गरेसँगै राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण बिग्रेको भन्दै कांग्रेस र एमाले सशंकित भएका छन् । दलहरुबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भैसकेको बेला मन्त्रिमण्डल विस्तार गर्नु सहमतिको भावना विपरीत भएको काँग्रेस सभापति कोइरालाको भनाई छ । मन्त्रिपरिषद् विस्तारले पनि फेरि शान्ति र संबिधानभन्दा सत्ताको खेलतिर दलको ध्यान केन्द्रीत हुन थालेको एमाले नेताहरु बताउँछन् ।’राष्ट्रिय सहमतिको सरकार गठनको लागि शीर्ष नेताहरुबीचको छलफलमा भएको भावना विपरीत मन्त्रिपरिषद विस्तार भएको छ’ तीन दलीय कार्यदलका सदस्य समेत रहेका एमाले नेता भीम रावलले अनलाइनखबरसित भन्नुभयो-’शान्ति र संविधान निर्माणको काम पूरा गरेर सहमतिको सरकार बनाउने कामलाई यसले अवरोध गरेको छ । दलहरुबीचको बिश्वासलाई पनि कमजोर र आपसमा आशंका बढाउने काम गरेको छ ।’
तर माओवादी नेताहरु यो कुरा मान्न तयार छैनन् । ‘मन्त्रिमण्डल विस्तार हुँदैमा सहमतिको सरकार बन्ने बाटो बन्द भएको छैन’ माओवादी नेता शक्तिबहादुर बस्नेतले अनलाइनखबरसित भन्नुभयो-’सरकार दुई दिन रहँदा पनि मन्त्रिपरिषद विस्तार गर्नुपर्छ । विस्तार हुँदैमा वातावरण बिग्रँदैन ।’ राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरणबारे दलहरुका आआफ्नै विचार भएपनि उनीहरुको ध्यान फेरि शान्ति र संविधान निर्माणबाट सत्ता राजनीतिमा जान थालेको चाहिं पक्कै हो । यसले फेरि शान्ति र संविधानको काम ओझेलमा पार्ने निश्चित छ ।
अस्पष्ट सहमति
कात्तिक १५ गते भएको सातबुँदे सहमति कार्यान्वयन हुने हो भने मंसिरको दोस्रो सातासम्म संविधानको पहिलो मस्यौदा जारी हुनुको साथै राष्ट्रिय सहमतिको सरकार निर्माणको ढोका खुल्नेछ । संविधान जारी नभएसम्म माओवादी नेतृत्वको सरकारमा कांग्रेस, एमाले सहभागी भई राष्ट्रिय स्वरुप दिने र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने अनौपचारिक सहमति दलहरुबीच भैसकेको छ । तर आलोपालो सरकारको नेतृत्वबारे कांग्रेस र माओवादीबीच आआफ्नै व्याख्या भएकाले सहमतिमा स्पष्ट कुरा उल्लेख छैन । मात्र ‘शान्ति र संविधान निर्माण प्रकृया उपयुक्त किसिमले अगाडि बढ्ने क्रमसँगै राष्ट्रिय सहमतिको सरकार निर्माण प्रकृया अगाडि बढाईनेछ’ भन्ने लेखिएको छ । तर विशेष समितिमा कोरम नपुगेर आवश्यक निर्णय हुन नसक्दा मंसिर सात सम्म सेना समायोजनको काम सक्ने सम्भावना झण्डै टरेको छ । त्यो बेलासम्म कब्जा सम्पत्ति फिर्ता गर्ने निर्णय पनि कार्यान्वयन हुने देखिंदैन । यो काम नहुँदासम्म संविधानको पहिलो मस्यौदा जारी नहुने भएकाले राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा बोली र कागजमै सीमित हुने हो की भन्ने आशंकलाई बल पुर्याएको छ ।
पालो कांग्रेसको, तर कहिले ?
कांग्रेसले मात्रै होइन, एमाले र माओवादीले समेत अबको सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् । हिजोआज कांग्रेस नेताहरुले भाषण गर्दा अबको पालो हाम्रो भनेर बोल्न शुरु गर्छन् । त्यसो त अबको चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने मोटामोटी सहमति पनि दलहरुबीच भैसकेको छ । तर यो सरकारको आयु कहिलेसम्म भन्ने निश्चित छैन । यही पाराले मंसिर १४ मा संविधान जारी नहुने निश्चित छ । कतिपय नेताहरुले संविधानको म्याद ६ महिना थपिने बताइसकेका छन् । तर त्यो ६ महिना पनि यही चालले नबित्ला भन्ने ग्यारेन्टी छैन । तर केही नेताहरु भट्टराई सरकारको आयु छोटिँदै गएको बताउँछन् ।
‘वर्तमान सरकारको समायावधि मंसिर ७ गतेसम्म मात्र हो’ एमाले नेता शंकर पोखरेलले भन्नुभयो-’मंसिर ७ सम्म सात बुँदे सहमति अनुसार शान्ति र संविधान निर्माणका आधारभूत काम सके सहमतिको सरकार बन्छ, त्यसो हुन नसके समीक्षा गरेर नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने हुन्छ ।’ तर कांग्रेसकै नेताहरु पनि यसै हुन्छ भन्न सक्दैनन् । ‘अहिलेको केन्द्रीय विषय शान्ति हो, सरकार होइन’ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भन्नुभयो-’सहमतिको सरकार गठन र संविधानसभाको म्याद थपबारे कुनै सहमति भैसकेको छैन । यसबारे फेरि छलफल हुन्छ ।’
News Courtsy: Online Khabar





