दुर्गा खनाल, काठमाडौ, कार्तिक २४ – ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिए पीडित परिवारजनले आत्मदाह गर्ने चेनावनी दिएको छ ।
श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले राष्ट्रपतिले त्यस्तो नगर्नेमा आफूहरू आशावादी रहेको उल्लेख गर्दै त्यहाँबाट पनि न्याय नपाए राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलगायत सबैका अगाडि आत्मदाह गर्ने बताइन् ।
सर्वोच्च अदालतले श्रेष्ठ हत्यामा संलग्न रहेको पुष्टि गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेका सभासद ढुंगेललाई सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मंगलबार निर्णय गरेको थियो ।
सर्वोच्चको निर्णय कार्यान्वयन गर्न सर्वत्र दबाब बढिरहेका बेला सरकारले भने आममाफी दिने प्रक्रिया अघि बढाएपछि पीडित परिवार झन् मर्माहत भएको छ ।
‘पहिले नै आममाफी दिने कुरा चल्दा हामीले राष्ट्रपतिलाई भेटका थियौं, त्यतिबेला त्यस्तो कुरा आएछ भने म विचार गर्छु भन्नुभएको थियो,’ दिदी सावित्री श्रेष्ठले कान्तिपुरसँग भनिन्, ‘राष्ट्रपतिज्यूसँग आशा छ, उहाँबाट पनि न्याय पाइएन भने सबैको अगाडि म आत्मदाह गरिदिन्छु ।’ उनले ढुंगेललाई सजाय दिलाउन आफू अन्तर्राष्ट्रिय अदालतसम्म जाने बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोगले समेत आममाफीको प्रक्रिया अघि नबढाउन सरकारको ध्यानाकर्षण गराएको थियो ।
सर्वोच्चले पनि फैसला कार्यान्वयन गराउन कार्यकारी निकायलाई ध्यानाकर्षण गराइरहेका बेला सरकारले आममाफीको प्रक्रिया अघि बढाएपछि माओवादीबाहेक राजनीतिक दल, मानव अधिकारकर्मीर् र पीडित परिवार आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बुधबार सिंहदरबारमा धर्ना दिएका थिए ।
श्रेष्ठलाई सभासद ढुंगेलसहितको समूहले २०५५ असार १० गते गोली हानी हत्या गरेको थियो । श्रेष्ठले स्थानीय बाहुन जातकी केटी विवाह गरेको निहुँमा उनको हत्या भएको थियो । स्थानीय थलबहादुर पौडेल र डोरबहादुर पौडेलले आफ्नी नातेदार बहिनीसँग विवाह गरेको निहुँमा श्रेष्ठको हत्या गर्न तत्कालीन माओवादी कार्यकर्ता पुष्कर गौतम र बालकृष्ण ढुंगेललाई प्रयोग गरेको दिदी सावित्रीले बताइन् ।
‘मेरो भाइले बाहुनकी छोरीसँग विवाह गरेको थियो, त्यही निहुँमा उसलाई थलबहादुर र डोरबहादुरले मार्न लगाएका हुन्,’ उनले भनिन्, ‘बुहारीले पनि आफ्नै दाजुहरूले श्रीमान्लाई मार्न लगाएको भन्ने बयान सबैतिर दिएकी छन् ।’ सावित्रीका अनुसार असारको रोपाइँका लागि भनेर सामान किन्न दुइटा भरिया लिएर उज्जन रामेछापको धोबीडाँडा हाट गएका थिए । त्यहाँबाट र्फकने क्रममा घर नजिकैको खेतमा ढुंगेलको समूह बसेको थियो । त्यो समूहमा रहेका गौतमले ‘को हो ?’ भन्दै उज्जनतिर टर्च लाइट देखाए । उज्जनले ‘म हुँ’ भनी जवाफ दिनेबित्तिकै ढुंगेलले गोली प्रहार गरेका थिए । गोली छड्के लागेपछि उनलाई त्यहीं पीडा दिएर मारेको र लास गायब गराएको सावित्रीले जानकारी दिइन् ।
उज्जनको हत्यापछि श्रेष्ठ परिवारका अन्य दुई जनाको पनि ज्यान गएको छ । हत्याको किटानी जाहेरी दिएका उनका दाजु गणेश श्रेष्ठलाई पनि उनीहरूले हत्या गरेको सावित्रीले बताइन् । किटानी जाहेरी दिएदेखि नै ढुंगेल समूहले गणेशलाई पनि मार्ने धम्की दिँदै आएको थियो । स्थानीय हाटबजारमा उनको नजिकै गएर ‘भाइको जस्तै लास गायब गरिदिन्छु’ भन्ने धम्की गणेशलाई दिने गर्थे । धम्कीको क्रम बढेपछि सावित्रीले दाजु गणेशलाई काठमाडौं नै झिकाएकी थिइन् । त्यसपछि अधिकांश समय काठमाडौंमै बस्ने गणेश २०५९ सालको दसैं-तिहार काठमाडौंमै मनाएर ओखलढुंगा गएका थिए । श्रीमती बिरामी भएर काठामाडौंमै उपचार गराइरहेकाले निको नहुन्जेल छोराछोरीको पढाइ बिग्रन्छ भनेर उनी ओखलढुंगा गएका थिए ।
‘भाउजूलाई छिटो उपचार गराएर पठा, म केटाकेटीको पढाइ हेर्दै गर्छु, धान पनि थक्क्याउँछु भनेर जानु भएको थियो,’ सावित्रीले भनिन्, ‘मैले त नजानु भनेकी थिएँ, फर्केर नै आउनुभएन ।’ उनका अनुसार २०५९ मंसिर ६ गते गणेश धानको खलामा थिए । एक हूल व्यक्ति आएर उनकी छोरी रचना श्रेष्ठलाई बुवा कहाँ हुनुहुन्छ भनेर सोधे । छोरीले खेतमा हुनुहुन्छ भनेपछि उनीहरू त्यहीं गए । खेतमा दुई खला थिए । पहिले माथिल्लो खलामा गएर ‘यहाँ गणेश श्रेष्ठ को हुनुहुन्छ ?’ भनी सोधे । श्रेष्ठकै भतिजा पर्ने निकेशले ‘उता अर्को खाला हुनुहुन्छ’ भनेपछि त्यहीं गए । त्यहाँ पुगेर गणेशलाई ‘कुरा गर्नुछ, तलतिर जाऔं’ भनी आग्रह गरे । गणेशले ‘यहाँ हामी सबै आफन्त नै छौं, यहीं कुरा गर्दा हुन्छ’ भन्दा उनीहरूले कडकेर खुरुक्क हिँड्नुस् भन्दै केही तल लगेर गोली हानी हत्या गरेका थिए । ‘भाइको हत्यामा बालकृष्ण नै संलग्न थिए, दाजुको हत्यामा चाहिँ थिएनन् तर उनकै आदेशमा भएको हो,’ सावित्रीले भनिन् ।
बाबुको हत्या भएको पीडाका कारण गणेशकी छोरी रचनाले २०६३ जेठ २९ मा आत्महत्या गरेकी थिइन् । एउटा घटनाका कारण अरू दुई जनाको ज्यान गएपछि श्रेष्ठ परिवार दोषीलाई कारबाहीको माग गर्दै सबैतिर पुगिसकेको छ । तर आदालतको आदेशसमेत कार्यान्वयन नभएपछि धेरै मर्माहत भएको छ ।
श्रेष्ठको हत्यामा संलग्नताको पुष्टि गर्दै जिल्ला अदालतले २०६१ सालमा ढुंगेललाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि ढुंगेल पुनरावेदन अदातलमा गएपछि पुनरावेदनले २०६३ मा उनलाई सफाइ दियो । ढुंगेल भने श्रेष्ठ हत्याको किटानी जाहेरी पर्नेबित्तिकै पक्राउ परी जेलमै थिए । पुनरावेदनले सफाइ दिएपछि थुनामुक्त भए । त्यसपछि उनी संविधानसभाको चुनावमा लडेर निर्वाचित भए ।
पुनरावेदनको फैसलाविरुद्घ सावित्रीले दायर गरेको मुद्दामा सर्वोच्चले २०६६ सालमा जिल्ला अदालतकै फैसला सदर गर्दै ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला गर्यो । तर त्यो कार्यान्वयन नभएकामा सर्वोच्चले पटक-पटक ध्यानाकर्षण गराउँदै आएको छ ।
माओवादीको राजनीतिक दबाबका कारण उनलाई कारबाही हुन सकेको थिएन । माधव नेपाल नेतृत्वको सरकारकै पालादेखि माओवादीले ढुंगेललाई आममाफी दिन दबाब दिँदै आएको थियो । झलनाथ खनाल नेतृत्वको सरकारका बेलामा पनि यसको प्रयास भएपछि दबाबका कारण सफल भएन । अहिले भट्टराई नेतृत्वको सरकारले आममाफीको सिफारिस गरेको हो ।
‘कारबाही गराइछाड्छु’
- सावित्री श्रेष्ठ, दिदी
जाने जति ठाउँ गइसकियो, भन्ने ठाउँमा पनि भनिसक्यौं । अब अरू जाने ठाउँ कहीं छैन । राष्ट्रपतिले निर्णय सदर गर्नु हुन्न कि जस्तो छ । पहिले नै आममाफीको कुरा पत्रपत्रिकामा आएपछि हामी उहाँलाई भेट्न गएका थियौं, हामी पीडित हांै भनेर निवेदन दिन जाँदा उहाँले मलाई यसबारे धेरै थाहा छ भनेर भन्नुभएको थियो । उहाँले तपाईंहरू ढुक्क भएर बस्नुहोस् सर्वोच्चभन्दा माथि म छैन भन्नुभएको थियो । एउटाका कारण तीन जनाको ज्यान गएको कुरा मैले थाहा पाएको छु भन्नुभएको थियो । राष्ट्रपतिज्यूले माधव नेपाल प्रधानमन्त्री हुँदा आममाफीको प्रक्रिया अगाडि बढाउन सल्लाह गर्न आएको भन्नुभएको थियो रे । तर उहाँले ‘के कुरा गर्नु भएको माधवजी ? अलिक अध्ययन गरेर आउनुहोस्, हामी सर्वोच्च अदालतभन्दा माथि छैनौं’ भनेर पठाउनुभयो रे ।
झलनाथ खनालले पनि झन्डै आममाफीको कुरा गर्नु भएछ । हामी त्यो थाहा पाएर पार्टीमा गयौं, निवेदन दियौं । महासचिव ईश्वर पोखरेललाई भन्यौं, उहाँहरू आफैं गएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिनुभयो ।
आममाफी भयो भने म अन्तर्राष्ट्रिय अदालतसम्म जान्छु । सरकारका मान्छेसँग केही कुरा भएको छैन । मानव अधिकारकर्मी, कानुन जान्नेहरूसँग के गर्दा हुन्छ भनेर सल्लाह गर्दैछु । म जसरी भए पनि सजाय दिलाएर छाड्छु । दाजु, भाइ र भदैनी मार्नेलाई सजाय दिन सकिनँ भने ‘म तिमीहरूकी दिदी-बहिनी कर्तव्य पूरा गर्न
सकिनँ भनेर म यिनै राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका अगाडि आत्मदाह गर्छु । योभन्दा अर्को मेरो कुनै विकल्प हुने छैन ।
News Courtesy: ekantipur





