२६ कात्तिक, काठमाडौं । चिया प्रवर्द्धनमा सरकारले चासो देखाएसँगै नेपालको चिया निर्यातमा सुधार आएको छ । केही समयअघि नेपाली चिया भनेपछि नाक खुम्च्याउने देशहरूले पनि अहिले चियाको माग गरेकाले चिया निर्यातमा सुधार आएको हो ।
निर्यातमा आएको सुधारसँगै गत आर्थिक वर्ष २०६७/६८ मा रु १४ करोड ४९ लाख बराबरको चिया निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२ दशमलव ९२ प्रतिशत बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०६६/६७ मा रु नौ करोड १२ लाख बराबरको चिया निर्यात भएको थियो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार पछिल्लो एकदशकको तथ्याङ्क हेर्दा निर्यातमा धेरै सुधार आएको छ । नेपालको इलाम, पाँचथर, धनकुटा र अन्य पहाडी जिल्लामा उत्पादन हुने पत्ती अर्थोडक्स चिया बास्नादार हल्का रङको हुने भएकाले सो चियाको कुल उत्पादनको ९० प्रतिशत विदेशमा निर्यात हुन्छ । यसको मुख्य बजार युरोपेली मुलुक, जापान, जर्मन, क्यानडा हुन् । यसैगरी सिटिसी चिया भने नेपालभित्रै खपत हुनुका साथै भारत, पाकिस्तान, बङ्गलादेशमा निर्यात हुने गरेको छ । यो नेपालमा झापा जिल्ल्ाामा मात्र उत्पादन हुन्छ । यसको आन्तरिक माग र खपत धेरै भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक रमणप्रसाद पाठकले बताउनुभयो ।
उहाँका अनुसार विश्व बजारमा बढेको निर्यातले उद्योगी तथा व्यापारीमा उत्साह छाएको छ । यसरी नै निर्यात बढ्दै गए नेपाली उद्योगले अन्तर्राष्ट्रिय बजारमा दह्रो पकड राख्ने छ । हाल मुलुकभरि १२४ वटा चिया बगान र ४० वटा प्रशोधन कारखाना सञ्चालित छन् । त्यसमध्ये २५ वटा सिटिसी र १५ वटा अर्थोडक्स चिया उत्पादन गर्ने कारखाना रहेका छन् । यस क्षेत्रमा ४० हजारभन्दा बढी श्रमिकले प्रत्यक्षरूपमा रोजगारी पाएका छन् । रासस





