पारस चौंलागाईं खुट्टाले लेख्ने गर्छन् । पोषण पौडेल मुखले । २४ वषर्ीय पारस एलकेजी र १७ वषर्ीय पोषण युकेजीमा पढ्छन् । पारस र पोषण, विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र सिनामंगलका विद्यार्थी हुन् ।
गत असारदेखि पारसले मुखले लेख्न थालेका हुन् भने पोषणले खुट्टाले लेख्न थालेको ६ महिना भयो । विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक सविता उप्रेतीले भनिन्, ‘पारसलाई सात र पोषणलाई तीन महिना फिजियोथेरापी गराएपछि उनीहरूलाई खुट्टा र मुखले लेख्न सिकाइएको थियो ।’
अहिले पारस र पोषण खुट्टा र मुखले लेख्न अभ्यस्त भइसकेका छन् । दुवैले खुट्टा र मुखले गृहकार्य गर्छन् । चित्रकलाप्रति उनीहरू दुवैको विशेष रुचि छ । दुवैले फूल, गमला र घर बनाउँछन् । चित्र बनाउन दुवैको प्रतिस्पर्धा हुन्छ । पोषणले भने, ‘मुखले भन्दा खुट्टाले लेख्न अलि सजिलो भएर होला कि पारसले मभन्दा छिटो चित्र बनाउँछ ।’
पारस लगनशील छन् । उनी कक्षाका ‘फस्र्ट’ विद्यार्थी हुन् । कक्षाका मात्रै होइन, उनले ८९ दशमलव ०७ प्रतिशत अंक ल्याएर ‘स्कुल फस्र्ट’ गरे । खुट्टाकै सहाराले उनले मोबाइल चलाउँछन् । पारसले भने, ‘खुट्टाले टाइप गरेर विद्यालयका शिक्षक-शिक्षिका र साथीहरूलाई एसएमएस पठाउने गर्छु ।’
पोषण पनि पारसजस्तै लगनशील छन् । उनी पनि कक्षाका ‘फस्र्ट’ विद्यार्थी हुन् । उनले ‘स्कुल सेकेन्ड’ गरेका थिए । उनले मुखकै सहाराले मोबाइलबाट कल गर्ने र आएको कल उठाउने गर्छन् । पोषणले भने, ‘मुखले एसएमएस लेख्न अप्ठ्यारो हुन्छ, त्यसैले सुतेर हातले एसएमएस टाइप गर्छु । तर, धेरै समयचाहिँ लेख्न सक्दिनँ ।’
पोषण प्रस्ट बोल्न सक्छन् । तर, हिँडडुल गर्न सक्दैनन् । उनको हात-खुट्टा छोटो, नरम, मोटो र घुँडा पछाडि र्फकेको छ । जसलाई ‘क्लब फुट’ भएको भनिन्छ । त्यसैले उनले मुखले लेख्ने अभ्यास गराइएको हो ।
मस्तिष्क पक्षघात भएका कारण पारसको हात-खुट्टा सामान्य अवस्थामा रहँदैन । सात महिना फिजियोथेरापी गरेपछि उनलाई खुट्टाले लेख्न अभ्यास गराइएको थियो । उनको जिब्रोसमेत छोटो छ । त्यही भएर उनलाई बोल्न केही गाह्रो हुन्छ । पोषणजस्तै उनी हिँडडुल गर्न सक्दैनन् ।
पारस चौलागाईं र पोषण पौडेललाई दैनिक फिजियोथेरापी गराउँदै पढाइन्छ । फिजियोथेरापिस्टका अनुसार फिजियोथेरापीले बिग्रेको अंगलाई थप बिग्रन नदिई सन्तुलनमा राख्ने गर्छ ।
विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र अपांगता भएका व्यक्तिलाई पढाइने नेपालकै पहिलो र एकमात्रै विद्यालय हो । ‘स्पिच थेरापी, अकुपेसन थेरापी र डान्स थेरापी गराउँदै यहाँ विशेष शिक्षा दिने गरिन्छ,’ विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रका प्रबन्धक निर्देशक उप्रेतीले भनिन्, ‘शारीरिक रूपमा अशक्तले उपचार गराउन जाँदा पढाइ छुट्ने र विद्यालय जाँदा उपचार गराउन नपाउने भएकाले विशेष स्कुल स्थापना गरेकी हुँ ।’
- दीपेन्द्र राई
Courtesy: Naya Patrika





