नेपाल फर्कने चाहना

admin August 1, 2011 3
नेपाल फर्कने चाहना

अध्ययन वा कामका सिलसिलामा विदेशमा गएका धेरै नेपाली स्वदेश फर्कन चाहिरहेका छन्। फर्कनेको संख्या पनि बढ्दो छ। फर्कने कारण र उद्देश्य फरकफरक भए पनि यस लहरले धेरैलाई छोएको छ। फर्केपछि के गर्ने भन्ने बारे पनि फरकफरक धारणा छ। र, फर्किसकेकाको अनुभव पनि फरकफरक छ। यसले नेपालीहरूमा भित्रभित्रैे अत्यन्त सकारात्मक तरंग ल्याएको छ। हुनत, यो सुखद पक्ष अहिले ठूलो संख्यामा प्रत्येक दिन कामका लागि विदेसिने युवाको संख्यासामु नगण्य र मामुली विषय लाग्नसक्छ तर यो सानो तरंगले नै भोलिको नेपालको दिशा र उचाइ निर्धारण गर्नसक्छ।

हालै मेरा एक जना आत्मीय साथी अमेरिकामा करिब एक दशक बिताएर आफ्नो झन्डै डेड लाख डलर प्रतिवर्ष र अरू सुविधाको जागिर छोडेर सपरिवार नेपाल फर्के। उनको राजनीति गर्ने तीव्र इच्छा छ। सक्रिय राजनीति। उनले भने – ‘उमेरले ५० नाघ्यो, पैसा पनि कमाइयो। छोराछोरी हुर्के। बाटो लागे। कति अरूको कारिन्द भएर बस्ने? देशमं बस्ने र राजनीति गर्ने। देशलाई केही दिने। आफूले पनि सन्तोष गर्ने। दैनिकी चलाउन घर छ। गाडी छ। पेन्सन पनि थोरै छ। मैले त राजीनामा ठोकेर हिँडे न्युयोर्कबाट। अब सबै जिल्ला घुम्छु। ल भन्नोस् कसरी जाने अब?’ मैले उनलाई बधाई दिएँ। लोभ त्यागेर आएकोमा र राजनीति गर्छु भनेकोमा। अनि सल्लाह दिएँ केही दिन नेपाल बुझ, घुम त्यसपछि कार्ययोजना बनाऊ। रणनीति बनाऊ। हतारै गरिहाल्नु पर्दैन। उनलाई मेरो भनाइ त्यति चित्त बुझेन। तुरुन्तै ठट्टा गर्दै उनले भने – ‘तपाईको पो ‘नेर्टवर्क’ बनिसकेको छ र प्रतीक्षा गर्नुहुन्छ। मलाई त हतार छ।’ यत्तिकैमा मैले साथीका नाताले उनलाई भने -’त्यो नेटवर्क तपाईँको पनि हो।’ हाम्रो त्यो पहिलो बसाइ यत्तिकैमा सकियो। अगाडि के होला पछि नै थाहा हुनेछ। एक जना पीएचडी गरेको, परिपक्व ऊर्जा र अपेक्षाकृत सम्पत्ति पनि भएको व्यक्ति राजनीति गर्छु भन्छ भने त राम्रै भयो नि।
हार्वर्ड विश्वविद्यालयबाट पब्लिक पोलिसीमा स्नातकोत्तर गरेकी एक जना फुर्तिली युवती मेरो छोराको सिफारिसमा मलाई भेट्न आइन्। उनको स्कुल देखिकै पढाइ सबै राम्रो विद्यालयमा भएको रहेछ। उनको अनुहार हँसिलो थियो। उनमा उमंग भरिएको केही गरी हालौँ भन्ने भावनाले भरिपूर्ण उनको बडी ल्यांग्वेजले भन्थ्यो। म त्यति बेला राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिएँ। उनलाई सोधेँ – ‘किन आयौ?’ उनले एकछिन पनि ढिलो नगरी जवाफ दिइन्- ‘म यहीँ काम गर्ने अंकल। उता बस्न मन लागेन, रस पनि छैन। यहीँ गर्न सकिने कुरा धेरै छन्। म त्यसैले आएँ।’ मैले सोधेँ – ‘के गर्न मन छ? यहाँ सरकारी जागिर त्यति आकर्षक नहोला १०-१५ हजारको जागिर त्यसमा पनि कर्मचारी तन्त्र, तिमी कसरी बाँचौला र? तिम्रो विकास के होला? अर्न्तराष्ट्रिय संघ संस्थाले बरु तिमीजस्ता बाहिरबाट शिक्षित र सक्षमलाई राम्रो तलब दिन्छन्। काम पनि चाहेअनुसारकै हुन्छ, काम गर्ने वातावरण पनि ‘ब्युरोक्य्राटिक’ हुन्न। तिमी आफ्नै स्वतन्त्र व्यवसाय वा काम पनि गर्नसक्छौ। धेरै जनाले यस्तो गरेका पनि छन्। आफ्नो सोच, आर्थिक अवस्था, परिवार र आफ्नो समाजको अपेक्षा, तिम्रो आफ्नै भविष्यप्रतिको सोच के हो? त्यसले नै के गर्ने भन्ने निर्णयलाई असर गर्छ।’ मैले यति भनेर सिध्याउन नपाउँदै उनले थपिन् – ‘अंकल, विदेशी संघसंस्थामा काम गर्ने भए त म उहीँ पनि गर्नसक्थेँँ। विश्व बैंक, युएसएआईडी र अनेकौँ अरूले लिन्थे होलान्। अफर पनि आएको हो मेरो प्रोफेसरको माध्यमबाट। तर मलाई नेपाल सरकारभित्रै पसेर काम गर्न मन छ। सरकार कसरी चल्दोरहेछ जान्नु छ। त्यसलाई बुझेर परिवर्तन गर्नु छ। म त लोकसेवा दिन्छु।’ उनको त्यो प्रतिबद्धता देखेपछि र आफ्नो अनुभव र अरूको पनि केही देखेकाले मैले उनलाई त्यो निर्णयका लागि बधाई दिएर ठिक गर्‍यौँ भनें। तर मनमनै यति राम्रो पढाइ भएको व्यक्तिको यो उत्साह कतै निराशामा त परिणत हुने हैन भन्ने सोचेँ र उनलाई भने – ‘निराश हुने अवस्था पनि आउँछ। सचेत हुनु है।’ त्यस ताका एउटा समाचारले निकै प्रचारप्रसार पाएको थियो, मैले त्यो घटना धेरैलाई भन्ने गरेको छु। ती २८ जना परराष्ट्र सेवामा पास हुनेमा १४ जना महिला थिए। ती पनि अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्ने क्षमता भएकैहरू थिए। उनीहरूमध्ये एक जना डाक्टर थिइन्। उनले भनेकी थिइन् – ‘म यस राष्ट्रको राजदूत हुन चाहन्छु, त्यसैले यो सेवामा पसेकी हुँ।’ मैले यो प्रसंग पनि सुनाएर उनलाई हौसला दिएँ।
हार्वर्ड विश्वविद्यालयबाटै स्नातक गरेका एक जना शेर्पा युवक म कहाँ २ महिना जति बसे। उनलाई परिवारको सदस्यसरह बस्ने खाने व्यवस्था मिलाएको थिएँ। पछि त परिवारकै सदस्यसरह भए। उनी सोलुका रहेछन्। बूढानिलकण्ठबाट स्कुल पढेका, जेहेन्दार। पूरै छात्रवृत्तिमा हार्वर्डमा पढ्न गएका रहेछन्। तर नेपाल बुझ्न र नेपालसँगै सम्बन्धित काम गर्न मन लागेछ। सबै परिवार, सम्बन्धी अमेरिकामै रहेछन्। उनकी ९० वर्षीया हजुरआमा बौद्धमा बस्नुहुँदो रहेछ। नेपालमै फर्कनेेबारे अझै उनले निर्णय गरेका रहेछन्। तर नेपाललाई काम लाग्ने कुरा गर्ने सोच रहेछ। उनले अर्थविद् सुजिब शाक्यको बीडस् भन्ने संस्थामामा ‘इन्टर्नसीप’ गरे। हालैमात्र उनी सिकागोमा एउटा इनभेस्टमेन्ट कम्पनीमा काम रहेको थाहा भयो। सम्पर्कमा छन्।
केही महिनाअघि एक जना प्रतिष्ठित परिवारका युवा म कहाँ आए। उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेका रहेछन्। उनले बेलायत मै एक वर्ष काम गरिसकेका रहेछन्। तर यतै बस्ने विचारले नेपाल आएका। मैले सोधेँ – ‘तिमीलाई काम चाहिएको कि जागिर?’ उनले तुरुन्तै जबाफ दिए – ‘मलाई बस्न खान समस्या छैन। हाम्रो घर छ। परिवार राम्रो छ। त्यसैले म काम गर्न चाहन्छु। पैसा नै कमाउनुपर्ने बाध्यता मलाई छैन। पैसाको लागि भए म उतै काम गर्थेँ होला। राम्रै कामको ‘अफर’ थियो। काम गर्न एसियातिरै रमाइलो छ। धेरै कुरा भइरहेछन् यता। यहाँको समाज र आर्थिक अवस्था चलायमान छ । त्यसैले यहीँ नेपालमा वा यही क्षेत्रमा काम गर्न मन छ।’ उनले थप भने – ‘मेरो क्षमता भनेको अंक हो। मलाई डाटासँग खेल्न आनन्द लाग्छ। मलाई धेरै भेटघाट गर्न त्यति मन पर्दैन।’ मैले उनलाई केन्द्रीय तथ्याङ्क विभागसँग जोड्ने सोच बनाएँ। तर कुन्नि के भयो उनीसँग फेरि भेट भएन। एकदुई पटक इमेलमा सम्पर्क हुँदा भारततिर छु आएर भेट्छु भन्थे।
यी केही उदाहरणमात्र हुन्। यत्तिकै आधारमा सामान्यीकरण गर्नु उपयुक्त नहोला तर मलाई थाहा भएअनुसार अहिले यता आएर नेपाल आउन चाहने सक्षम व्यक्तिहरूको संख्या बढ्दो छ। केही गरौँ भन्ने उत्साह, पश्चिमा देशमा भएको आर्थिक समस्या र रोजगारीको कमी, आफ्नो पहिचानको चाहना जुनसुकै कारणले भए पनि यो क्रम बढेको देखिन्छ। आएपछि के हुन्छ? आएकाले कसरी समय बिताइरहेका छन्? फेरि फर्केर गइरहेका छन् कि? यसको राम्रो अध्ययन आवश्यक छ। मैले फर्कन चाहने र फर्केकाहरू साधारणतयाः राम्रो परिवारका, आर्थिक अवस्था बलियो भएका, राम्रो अध्ययन गरेका, केही गर्छु भन्ने दृढता भएका पाएको छु। मलाई लाग्छ यो सोच र शक्तिलाई राम्रो पहिचान गरेर उपयुक्त वातावरण बनाइए नेपालको परिवर्तनका लागि बलियो माध्यम बन्नसक्छ। भारत, पाकिस्तान, बंगलादेशले समेत यस्तै जनशक्तिलाई आकर्षित गरेर प्रगति गरेका हुन्। काम गर्न फर्कने प्रवृत्तिलाई प्रोत्साहित गर्ने र सदुपयोग गर्ने बारे अन्यत्रबाट पनि सिक्न आवश्यक छ। यो सकारात्मक तरंगलाई बुझेर यसबारे सहयोग पुग्ने राष्ट्रिय नीति बनाउन सकिन्छ। फर्केर आउने एक जना सक्षम व्यक्तिको कामले सयौँलाई बाहिरिनबाट रोक्नसक्छ।

By: जगदीशचन्द्र पोखरेल

लेखक राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।
Courtesy: Nagarik News

 

3 Comments »

  1. Anrup ale August 2, 2011 at 9:06 am - Reply

    Badhai cha uhako uchabichar Lai Tara Nepal gaisakepachi Nepal ko rajniyik paramparale le uhalai udash banai denecha yasko Lai chorko jamatma chori garna hunna bhanne aawaj uthayama uhalai yaklo wa maridine dhamkiharu aaune cha. Tesaile tapaile bichar garnu parne huncha natra America ko kamai hiloma janecha ra khairekai dEsh Lai samjanu naparosh

  2. Shekhar August 4, 2011 at 12:08 pm - Reply

    Very good thought. Really we need educated and professional people and it is good news that people from outside comming back with good attitude, it will definatly benift to our people. Let’s hope for beter future Nepal Aama is waiting such as you people. Every Nepalease People wanting to see abloom NEPAL.

  3. kp August 6, 2011 at 12:19 am - Reply

    Jawan Bhanjari bideshi ko Gulami Ani Bidesh Ma Kaam Nalage Bhaye chhi Nepal Ko Yaad!!!! ^0 Naghe pachhi Bidesh Ma kaha Kaam paeenchha ra ? Tara Nepali Politices ma Ta No Age Limit…………………………………………………….
    ………………………………………………….
    Dual Citizenship Policy is Wrong .

Leave A Response »