३२ वर्षको कमाई स्कुललाई दान

admin July 19, 2011 3
३२ वर्षको कमाई स्कुललाई दान

दिलीप पौडेल, बाग्लुङ, साउन ३- पियनले आफ्नो कति कमाइ बचाउँछ, कति रकम समाजसेवामा लगाउँछ?

जैदीस्थित संस्कृत उच्च माविका परिचर होमबहादुर क्षेत्रीले यी प्रश्नको उत्तर आश्चर्यजनक व्यवहारले दिएका छन्, ३२ वर्षे पूरै कमाइ पाँच लाख रुपैयाँ स्कुललाई दान गरेर।

‘धेरै पढ्न पाइनँ,’ आठ कक्षा पढेका होमबहादुरले भने, ‘मैले नपाए पनि अरू वञ्चित नहुन् भनेर सघाइरहेको छु।’

उनी २०३५ सालदेखि उक्त विद्यालयमा काम गरिरहेका छन्।

६० वर्षे होमबहादुरले एक दर्जन विद्यालयलाई चन्दा दिइसकेका छन्। जैदीस्थित संस्कृत उमाविलाई १ लाख १० हजार, कुइधाङ प्राविलाई १५ हजार, सरस्वती निमाविलाई ५० हजार, अर्जेवास्थित जनकल्याण माविलाई ७५ हजार, जनशिक्षित माविलाई ५० हजार, छिस्तीस्थित वसन्त माविलाई २५ हजार र वागलिङ प्राविलाई १० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।

 

त्यसो त उनले रेडक्रस, स्थानीय युवा क्लब, बाटोघाटो, पुल निर्माणमा समेत सघाउँदै आएका छन्।

ठूलो हृदयका उनी स्वयंको आर्थिक अवस्था भने बलियो छैन। बिहानबेलुका छाक टार्न उनले ज्यालामजदुरी गर्नुपर्छ। ‘मेरो आम्दानी अरूलाई दिँदै ठिक्क हुन्छ,’ उनले भने, ‘गाउँ आउने लाहुरेले दिएका कपडाले गुजारा गर्छु।’

दिउँसो विद्यालयमा काम गरेबापत आएको सम्पूर्ण तलब उनी शिक्षामा खर्चन्छन्। आफ्ना लागि केही बच्दैन। उनी जुत्ताचप्पल लगाउँदैनन्। उनका दाह्री कपाल सेताम्मे छन्।

‘हाम्रो विद्यालयलाई उच्च मावि बनाउँदा उनैले १ लाख १० हजार रुपैयाँ दिने घोषणा गरेपछि थप रकम जुटाउन गाह्रो परेन,’ संस्कृत मावि व्यवस्थापन समिति अध्यक्ष मोहराज शर्माले भने, ‘पियनले नै एक लाखभन्दा धेरै रकम दिएपछि अरुलाई चन्दा दिन नैतिक दबाब पर्‍यो।’

होमबहादुरले पनि समाजसेवा निरन्तर कायम राख्ने बताए।

साढे तीन दशकअघि जागिर थाल्दा मासिक डेढ सय रुपैयाँ तलब पाउने होमबहादुर अहिले ८ हजार रुपैयाँ पाउँछन्। ‘बाँचुन्जेल श्रम गरेरै खान्छु,’ उनले भने, ‘कमाएको पैसा सबै विद्यालय र समाजसेवामा लगाउँछु।’

होमबहादुरको त्याग देखेर दर्जनौं विद्यालय र सामाजिक संस्थाले सम्मान गरेका छन्। जैदीबाट जनशिक्षित मावि अर्जेवासम्म बाजागाजासहित डोली चढाएर ल्याएको घटना उनलाई ताजै छ। ‘मेरो सानो सहयोगलाई पनि अरूले ठूलोे भनी मूल्यांकन गरिदिएकामा हर्ष लाग्यो,’ क्षेत्रीले भने, ‘अझै उत्साहित भएको छु, आफ्नो अभियानमा समर्पित भएर लाग्नेछु।’ हालसम्म अविवाहित होमबहादुरको सम्पत्तिको नाममा एक घरमात्र रहेको छ।

गाउँमा कोही बिरामी परे उनले नै बोकेर फलेबास र कुस्मासम्म नै ल्याउने गरेका छन्। ‘काम नगरी बस्नै मन लाग्दैन,’ होमबहादुरले भने, ‘बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्छु।’ गाउँघरमा अप्ठेरो परे होमबहादुरको नै खोजी हुने भएकाले गाउँमा समेत उनी सबैका प्रिय छन्। ‘साह्रोगाह्रो परे उनैलाई डाक्छौं,’ स्थानीय लक्ष्मीदेवी चालिसेले भनिन्।

Source: Nagarik News

 

3 Comments »

  1. Raj July 20, 2011 at 1:00 am - Reply

    kass hami dherai jasso ko mann tapai ko jasto hunu sakeko bhaye.

  2. laxman kafle October 13, 2011 at 5:15 am - Reply

    yadamai ramro….. hami sabai nepali ko man yestai vako vaye nepal aaga yesto hune thiyena…..

  3. tanka November 6, 2011 at 10:37 am - Reply

    good…………

Leave A Response »