बेल्जियममा नेपाली खाना बेचेर एक जोडीले १२ वर्षदेखि नेपालमा समाजसेवा गर्दै आएका छन् । नेपाली चेली र उनका श्रीमान् बेल्जियम नागरिक पाउल भान्दमोरतेलले बेल्जियममा हुने कार्यक्रमहरुमा सहभागी भएर नेपाली हस्तकला र नेपाली खाना बेच्दै आएका छन् ।
१८ वर्षअगाडि टुरिस्ट गाइड बनेर आएका ४८ वर्षीय बेल्जियमका नागरिक पाउल भान्दमोरतेलसँग नाता जोडेकी नेपाली चेली निता पुनले आदर्श नारीको परिचय बनाइसकेकी छिन् । म्याग्दी जिल्लाको दुर्गम धारा गाविसको चित्रे गाउँमा माइती भएकी निताको सन् १९९६ मा पाउलसँग बिहे भएको हो । चित्रेमा आफ्ना बुबाआमाले चलाएको लजमा काम गर्दागर्दै पाउलसँगको प्रेम सम्बन्ध वैवाहिक सम्बन्धमा बदलिएको थियो ।
सुरुका दिनमा परिवारले उनलाई विदेशी नागरिकसँग विवाह गराइदिन मानेका थिएनन् । तर पछि निताकै सहमतिमा बिहे गरिदिए । विवाहपश्चात् बेल्जियम बस्न थालेकी नितालाई भाषालगायत नयाँ संस्कृतिमा घूलमिल हुन लगभग २ वर्ष जति लाग्यो । उनका सुरुका दिन आँशुमा बिते तर उनका श्रीमान् पाउलले उनको कठिनाइ बुझेर धेरै सहयोग गरिरहे ।
छिमेकी तथा आफन्तको नाममा नेदरल्याण्डमा भएकी दिदीसँग कहिलेकाहीँ भेट्न जाने गर्थिन् उनी । दिनहँुजसो नेपालमा सम्पर्क भइराख्थ्यो । निता भन्छिन्– बिहेपश्चात म यहाँ आउँदा नेपाली एकदम कम थिए । सम्पर्क गर्न गाह्रो थियो । मनको पीडा बुझाउन नेदरल्याण्डमा रहेकी आफ्नी दिदीकोमा उनी जाने गर्थिन् ।
विगतमा नेपाल छँदा आफूले २ घण्टा पैदल हिँडेर विद्यालय पढ्न जानुपर्ने तथा स्वास्थ्य सेवाको पहुँच नहुनुजस्ता समस्यालाई उनले बेल्जियममा रहँदा निकै महसुस गरिन् । बेल्जियमको सर्वसुलभता र नेपालको अभावताले उनलाई निकै दुखित तुल्यायो । तत्पश्चात् पाउलकै सल्लाहबमोजिम उनीहरुले चित्रे गाउँमा सन् १९९८ मा प्राथमिक विद्यालय निर्माण गरिदिए । आफ्नै खर्चमा स्कुल बनाएर २ घण्टा लगाएर स्कुल जानुपर्ने बाध्यताबाट अरुलाई मुक्त गरिन् निताले ।
त्यसपछि सन् २००३ बाट आफ्नो कामलाई हिमालयन प्रोजेक्टको नाम दिई देशमा समाज सेवाको सुरुवात गरे उनीहरुले । सुरुका दिनदेखि निता र उनका श्रीमान् पाउलले बेल्जियममा रकम जम्मा गरेर नेपाली हस्तकलाका सामान बेचेर तथा नेपाली खाना बेचेर आएको रकमबाट अहिले समाजसेवा गरिरहेका छन् ।
‘मैले कति दुःख गरेको छु भन्ने मलाई मात्र थाहा छ । दिनभरि ढाड दुखेर पनि देशकै लागि खटेर सामान बेच्दै आएकी छु । समाज सेवाकै लागि कति रात नसुतेरै बितेका छन्’, निताले भावुक हुँदै भनिन् ।
उनले म्याग्दीको शिख गाविसमा रहेको एक विद्यालयलाई ४ वटा कम्प्युटर र ५० हजार नगद पनि प्रदान गरेकी छिन् । त्यस्तै आफ्नै गाउँलेलाई सर्वसुलभ तरिकाले अत्याधुनिक ल्याबसहितको हेल्थ पोष्ट स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गरेकी छिन् उनले । यसबाहेक उनीहरुले म्याग्दीको खिवांग गाविसमा रहेको विद्यालयको भौतिक संरचना पुननिर्माण, कास्कीको सारङकोटको विद्यालयलाई प्रत्येक वर्षको एकपटक विद्यार्थीलाई पोसाक र रुपन्देहीको शीतलनगरमा अनाथ बालबालिकाका लागि सहयोग गर्दै आएका छन् । चित्रेमा रहेको विद्यालयका शिक्षक र हेल्थ पोस्टका कर्मचारीलाई यिनीहरुले नै पारिश्रमिक दिने गरेका छन् ।
नेपालमा सबैलाई विदेशीले डलर ल्याउँछ र सहयोग गर्छ भन्न सजिलो छ । सहयोगदातालाई नकारात्मक दृष्टिकोणले हेर्ने चलन रहेको छ । तर, नेपाली चेली निता र पाउलको यो कार्यले यो कुरालाई उल्टो साबित गरेको छ । उनीहरुले नेपाली हस्तकलाका सामान बेचेर तथा नेपाली खाना बेचेर आएको वार्षिक २२ लाख नेपाली रुपैयाँ नेपालमा सहयोग गर्दै आएका छन् । यसमा नितासँगै पाउलको ठूलो हात रहेको छ । उनी बेल्जिक नागरिक भएर पनि बेल्जियममा हुने स्थानीय कार्यक्रममा नेपालको संस्कृति रहनसहन गर्नु नौलो कार्य नै रहेको छ ।
नेपाली समुदायले नेपालका लागि खासै केही गर्न नसकेको अवस्थामा विदेशी ज्वाइँले सम्पूर्ण समय यसैमा लगाई सहयोग गर्नु महान कार्य मान्नुपर्दछ । तर, समाजसेवाका क्रममा उनीहरुले निकै दुःख झेलेका छन् । सुरुका दिनमा स्कुल निर्माण गर्दा अराजक समूहले झ्यालका शिशा फुटाइदिने तथा निर्माण कार्यमा अवरोध गर्नेजस्ता कामसमेत गरे ।
बिर्सन नसक्ने घटनाबारे बताउँदै निताका श्रीमान् पाउलले भने, ‘म्याग्दीमा सन् १९९९ मा विद्यालय उद्घाटन गर्ने दिनमै झ्यालका सिसा तोडफोड भयो, यो सम्झँदा एकदम दुःख लाग्छ । यस कुरालाई राजनैतिक दलका प्रतिनिधिले पनि बुझ्न सकेनन् ।
ससुराली देशमा सहयोग गर्न पाउँदा निकै खुशी रहेका छन् पाउल । नेपालमा धेरै संस्थाले सहयोग गर्ने तर त्यसको सदुपयोग एकदम न्यून मात्रामा भएको बताउँदै पाउल भन्छन्, ‘विकास चौतर्फी हुनुपर्दछ तर केही संस्थामा रकमको दुरुपयोग हुने गरेको छ । दाताहरुको रकम सही ठाउँमा सदुपयोग गर्न सके विकास चाँडै सम्भव छ ।’
आफ्नो ८ वर्षीय छोरा ओमलाई पनि नेपालकै समाजसेवामा लगाउने निताको ठूलो धोको रहेको छ । छोराले नेपाली नभुलोस् भनेर उनले दिनहँु छोरालाई नेपाली भाषा सिकाइरहेकी छिन् ।
Courtesy: Vishwa News





