यस्तो पनि हुँदो रै’छ भन्दै एक्लै हाँस्छु: चरिमाया

admin July 19, 2011 1
यस्तो पनि हुँदो रै’छ भन्दै एक्लै हाँस्छु:  चरिमाया
१३ वर्षअघि मुम्बईमा बेचिएका १ सय २८ नेपाली चेली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै थिए। भारतमा एचआईभी फैलिनुमा त्यहाँ रहेका अवैध कोठी जिम्मेवार रहेको ठहर गरी महाराष्ट्र सरकारले त्यहाँका कोठीहरूमा छापा मारेको थियो। यसरी छापा मार्दा भेटिएका करिब ४ सय युवतीमध्ये ती चेलीलाई नेपाल फर्काइएको थियो। ती चेली एयरपोर्टबाट मुख लुकाउँदै बाहिरिएका थिए। उनीहरूलाई ‘एड्सको पोको’ भन्दै आफन्त र सरकारले नेपाल फर्काउन अस्वीकार गरेको थियो। मानव बेचबिखनमा काम गरिरहेका माइती नेपाल, एबीसी नेपाल, सिबिनजस्ता सातवटा संस्थाले नेपाली समाज तथा सरकारसँग लड्दै उनीहरूलाई नेपाल भित्र्याउने मात्र होइन, परिवारमा पुनस्र्थापनाको कामसमेत सम्पन्न गरे। आज तिनै पीडित महिलाहरूमध्ये एक चरिमायाले मानव बेचविखनविरुद्ध महत्वपूर्ण योगदान गरेबापत अमेरिकाले प्रदान गर्ने ‘आधुनिक दासताविरुद्धको पुरस्कार- २०११’ प्राप्त गरिन्। १३ वर्षअघि पत्रिकामा तस्बिर छापिएला भनेर मुख छोप्दै एयरपोर्टबाट बाहिरिएकी चरिमाया अमेरिकाबाट पुरस्कार थापेर र्फकंदा भने तस्बिरका लागि फरक-फरक पोज दिइरहेकी थिइन्।

केही वर्षअघि तपाईंलाई सरकारले राष्ट्रिय पुरस्कार दियो, अहिले अन्तर्राष्ट्रिय पुरस्कार पाउनुभएको छ, त्यस्तो के काम गर्नुभयो

म एक्लैले ठूलो काम केही गरेजस्तो लाग्दैन। जंगलमा घाँस दाउरा गर्न गएका बेला मलाई जबरजस्ती बेहोस बनाएर मुम्बई पुर्‍याउने दलाललाई उताबाट फर्किएपछि जेल हालें। एउटी पीडित चेलीले आफ्नै पहलमा दर्जनौं चेलीबेटी बेच्ने व्यक्तिलाई थुनाएका कारण मलाई पुरस्कृत गरिएको हुन सक्छ। यद्यपि यो पुरस्कार मेरो त्यही एउटा प्रयासको प्रतिफल  होइन। सरकार र गैरसरकारी निकायको प्रयासमा गएको एक दशकमा मानव बेचबिखन रोक्ने कार्यमा नेपालले ठूलो प्रगति गरेको छ। हजारौं चेलिबेटी नारकीय जीवनबाट मुक्त भएका छन्। बेचिनेहरूको संख्यामा पनि कमी आएको छ। मैले पाएको पुरस्कार ती सबै कार्यका लागि दिइएको प्रोत्साहन हो।

आफू बेचिनुअघि महिलाहरू यसरी बेचिन्छन् भन्ने सुन्नुभएको थियो

सुनेकी थिएँ। मेरो जिल्ला सिन्धुपाल्चोक बढी महिला हराउने जिल्लामध्येको एक हो। मेरो गाउँमास्तिर एउटा दलालको घर थियो। उक्त घरमा कहिले स्कुले भेषमा, कहिले विवाहको भेषमा, कहिले घाँस-दाउरा गर्ने घरेलु भेषमा केटीहरू देखिन्थे। केही दिनपछि ती हराउँथे। गाउँलेहरू बिचरा कहाँबाट फसिछे को होला ? भनेर चर्चा त गर्थे तर त्यो अपराध हो, प्रहरीलाई खबर गर्नुपर्छ भन्ने थाहा थिएन। चेली बेचेर फर्किएपछि गाउँमा उक्त दलालले भाले काटेर भोज ख्वाउँथ्यो। भोज खान पाएपछि सबै तैं चुप मै चुप हुन्थे। बरु क्यासेट प्लेयर बजाएर गाउँ-टोल घुमेको भन्दै उसको प्रशंसा हुन्थ्यो। त्यसबेला मैले उसले केटी बेच्छ भन्ने सुनेकी थिएँ, आफैं पर्छु भन्ने कल्पना पनि गरेकी थिइनँ।

तपाईं कसरी फस्नुभयो

गाउँमा पाँच कक्षासम्म पढेकी थिएँ। थप पढ्न एक घण्टाको बाटो हिड्नुपथ्र्याे। टाढा भएकाले मैले घाँस-दाउरा गरेर घर सम्हाल्न थालेकी थिएँ। त्यो दलालले अब पढ्न छाड्यौ, जागिर खान सहर जाउँ भन्थ्यो। म वास्ता गर्दिनँथेँ। एक दिन म जंगल गएका बेला ऊसहित चार जना केटाले मलाई घेरेर सहर जाउ“m भने, मैले मानिनँ। लछारपछार भएपछि मेरो मुखमा केही हालिदिएजस्तो लागेको थियो, म त बेहोस भएछु। गोरखपुर पुगेपछि एकैपटक थाहा पाएँ। म रोईकराई गर्न थालेपछि फेरी त्यसैगरी जबरजस्ती केही ख्वाइदिए, फेरि मुम्बई पुगेपछि मात्र थाहा पाएँ। त्यसपछि त र्फकनै नसक्ने गरी कोठीमा थुनिहाले। दलालचाहिँ पैसा लिएर फर्किएको धेरै पछि थाहा पाएँ।

कोठीमा हुन्जेल बेचिएका चेलीको मनोदशा कस्तो हुँदो रहेछ

केही महिनासम्म त जसरी पनि घर र्फकन्छु भनेर भाग्ने अनेक योजना बनाइँदो रहेछ, तर त्यहाँको सुरक्षा व्यवस्था देखेपछि बिस्तारै त्यही जिन्दगी स्वीकार हुन थाल्छ। दिनमा दर्जनौं पुरुषलाई खुसी पार्न बाध्य भएपछि त कुन मुखले र्फकने भन्दै त्यसैलाई जीवन मान्न थालिँदो रहेछ। मनमा उठेको विद्रोह र कुण्ठालाई मेकअप गरेर, टिप्स पाएको पैसाले राम्रा पहिरन लगाएर ढाकछोप गर्ने प्रयास हुँदो रहेछ।

जतिबेला भारतीय प्रहरीले छापा मार्‍यो र नेपाल जाने अफर आयो, त्यसबेला के सोच्नुभयो

हाम्रो मनस्थिति के हुन्थ्यो भने कसैलाई पनि विश्वास नगर्ने। हामीलाई उद्धार गर्न आएका सिविनका गौरी प्रधानहरूलाई हामीले मुखमा थुकेका छौं। किनभने हाम्रो नजरमा पुरुष भोग्या हो भने महिला कोठीकी मालिक्नी। जब नेपाल फर्किएँ, मेरो मनमा मलाई यो अवस्थामा पुर्‍याउने दलाललाई या त मार्छु या त जेल हाल्छु भन्ने थियो। त्यसका लागि आफ्नो नाम परिवर्तन गरेर मैले चेलिबेटीबेचबिखनसँग सम्बन्धित गोष्ठीहरूमा भाग लिएँ। पत्रपत्रिकामा हाम्रा बारेमा छापिएका लेख पढ्न थाले। उद्धार गरिएका चेलीहरूलाई घरमा पुनस्र्थापना गर्ने काममा स्टाफ बनेर सघाएँ। यसले मलाई ज्ञान र हिम्मत दुवै दियो। अनि लुसुक्क एक दिन जिल्ला अदालतमा गएर किटानी जाहेरी दिएँ। नभन्दै प्रहरीले उनीहरूलाई पक्रियो। अहिले उनीहरू १० वर्षे जेल काटिरहेका छन्।

आज शक्ति समूहको अध्यक्ष हुनुभएको छ, यसका सबै सदस्य तपाईं जस्तै पीडित रहेछन्। यस्तो संस्था खोल्ने सोच कसरी आयो

सरकार र जनताको विरोधका बाबजुद जुन संस्थाले हामीलाई उद्धार गरेका थिए, उनीहरूले हामीलाई छ महिनासम्म विभिन्न तालिम दिने र परिवारमा पुर्नमिलन गराउने उद्देश्य राखेका थिए। केही पीडित परिवारमा सेटल भए पनि धेरैजसोलाई परिवारले स्वीकार गरेन। मलाई घर भित्र्याएको भन्दै गाउँलेले दाजु-भाउजूको बहिष्कार गरे। यस्तो अवस्थामा म गाउँ बस्न सकिनँ। अरू धेरै बहिनीहरूको कथा पनि मेरो जस्तै थियो। अब के गर्ने ? बेचिनुको पीडा कस्तो हुन्छ र यसलाई कसरी रोक्न सकिन्छ भन्ने हामीलाई भन्दा बढी कसलाई थाहा थियो र ? हाम्रो जीवन त बर्बाद भयो अरूको बर्बाद हुन दिनुहुँदैन भन्ने लागेर यो संस्था खोलेका हौं। यो रहर होइन, बाध्यतामा खोलिएको संस्था हो।

संस्था खोलेपछि गरेका महत्त्वपूर्ण काम

जुन दिन संस्था खोलियो, त्यसपछि गरिएका सबै काम महत्त्वपूर्ण छन्। हामीले पैसा कमाउन वा झारा टार्न संस्था खोलेका थिएनौं, गहिरो पीडाले रन्थनिएपछि काम सुरु गरेका थियौं। मुम्बईका कुन-कुन गल्लीमा चेलीबेटी छन्, उनीहरूलाई कसरी उद्धार गर्न सकिन्छ, कसरी चेलीबेटी बेचबिखन हुन्छन्, दलालहरूका कमजोरी के-के हुन् आदि कुरा थाहा भएकाले हामी सबैतिर एकै पटक परिचालित भयौं। गाउँ-गाउँमा जनचेतना जगाउने, आफ्ना पीडा सुनाउने हुँदा यसले चाँडै सफलता पाउन थाल्यो। हाम्रो काम गर्ने शैलीका कारण दातृ निकायले पनि विश्वास गरे। हामी एक दिन पनि चुप नलागी आफ्नो काममा लागिरहेका छौं, त्यसैले हाम्रा सबै काम महत्त्वपूर्ण छन्।

घरमा दुई छोरी र श्रीमान् छन्, यति ठूलो संस्थाको अध्यक्ष पनि हुनुहुन्छ। यति हुँदाहुँदै पनि कलेज पढ्न जानुहुन्छ, किन

जुन उद्देश्यका लागि हामी काम गरिरहेका छौं, त्यसका लागि शिक्षा अनिवार्य हुँदो रहेछ। संस्था दर्ता गर्न जाँदा हामीलाई न त राम्रोसँग बोल्न आउँथ्यो, न त लेख्न। कति पटक फायल फ्याँकिएका उदाहरण छन्। यो पीडाबाट रन्थनिएर हामी सबैले रात्रि विद्यालय पढ्ने योजना बनायौं। तीमध्ये केहीले एसएलसी पास गर्‍यौं। संस्थाको नेतृत्व गर्न उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने थाहा भएपछि फेरि कलेज पढ्न थालेकी हुँ। म छोरीहरूसँग पढ्छु, श्रीमान्ले सघाउनुहुन्छ। सरकारले राष्ट्रिय तथा अमेरिकाले अन्तर्राष्ट्रिय पुरस्कार दिएपछि जम्मेवारी पनि बढेको छ। त्यसले पनि उच्च शिक्षा हासिल गर्नु बाध्यता भयो।

भविष्यको योजना के छ

मानव बेचबिखनमा काम गर्ने धेरै संस्था छन्। हामीबीच मिलेर काम गर्नुपर्ने खाँचो छ। किनभने मानव बेचबिखनमा जे-जति काम भए, ती त प्रारम्भ मात्र हुन्, हामीले धेरै काम गर्न बाँकी छ। हिजो चेलबेटीहरू भारतमा मात्र बेचिन्थे, आज काठमाडौं र तेस्रो मुलुकमा पनि बेचिइरहेका छन्। सम्ास्या अझ जटिल बन्दै गएको छ। त्यसैले सबै संस्था मिलेर नयाँ शैलीमा काम गर्ने योजना छ।

मुम्बईमा बेचिएकी अनु तामाङ आज चरिमायाका रूपमा चर्चित हुँदा कस्तो लागेको छ

अचम्म लाग्छ। म त्यही केटी हुँ भनेर घरीघरी आफंैसँग सोध्छु। यस्तो पनि हुँदो रहेछ भनेर छक्क पर्छु र एक्लै हाँस्छु।

श्रीमतीका कारण सम्मानित भएँ

 

 

 

 

 

 

 

 

 

 

 

 

केही दिनयता चरिमायालाई सम्मान गर्नेहरूको ओइरो छ। उनी समयमा घर र्फकन भ्याउँदिनन्। चेलिबेटी बेचविखनविरुद्ध कार्य गर्न थालेयता चरिमाया घर चाँडै र्फकन छाडेकी छिन्। यद्यपि उनको कोठामा साँझ चाँडै बत्ती बल्छ, खाना पाक्छ। सफा सुग्घर हुन्छ। काठमाडौंको धुम्बाराहीस्थित चरिमायाका साँगुरा दुई कोठामा उनका श्रीमान्

आफ्नी श्रीमती कुरेर बसिरहेका हुन्छन्। गएको साता चरिमायालाई खोज्दै साप्ताहिक संवाददाता अश्विनी कोइराला र महेश प्रधान उनीहरूको डेरामा पुग्दा उनका श्रीमान् शम्भु खाना पकाउने तर्खरमा थिए।

नेपाली समाजमा श्रीमान् काममा जाने र श्रीमतीले भान्सा कुर्ने चलन छ, तपाईं त्यसको ठीक उल्टो हुनुहुन्छ, किन

के गर्ने, उनको कामै त्यस्तै छ। पहिले रात्रि स्कुल पढ्थिन्, त्यसैले कुर्थें। एसएलसीपछि अबेरसम्म व्यस्त हुन थालिन्। त्यसबेला पनि उनलाई हौसला दिन घरको काम गथर्ंे। अहिले त अन्तर्राष्ट्रिय पुरस्कार पाएकी छिन्, यसबेला उनलाई मेरो झन् ठूलो सहयोग चाहिएको छ।

तपाईं के काम गर्नुहुन्छ

अहिले घर निर्माणको काम गर्छु तर सधैं यही काम हुन्छ भन्ने होइन। केही समयअघिसम्म गि्रल बनाउने काम गथेर्ं। त्योभन्दा अघि ड्राइभिङ गरंे। ग्यारेजमा पनि काम गरें। जुन काम गर्दा म समयमै घर र्फकन सक्छु, म त्यही काम गर्छु। किनभने मैले अबेरसम्म काम गरें भने दुई छोरी भोकै हुन्छन्। श्रीमती पनि भोकाएरै र्फकन्छिन्। मैले काम फेरिरहनुको कारण पनि यही हो।

पढेलेखेका पुरुषहरूले मात्र महिलालाई यसरी छुट दिएको

सुनिएको थियो, तपाईं फरक देखिनुभयो। यो सोच कसरी आयो

आमा सानैमा खस्नुभयो। दुई भाइ र एक बैनी हुर्काउँदा मैले पाँच कक्षाभन्दा माथि पढ्न पाइनँ। जसलाई पढ्ने साह्रै रहर हुन्छ, उसले पढ्न पाएन भने अरूले पढेको देखेर आनन्द मनाउँदो रहेछ। जब चरिमायाजीले पढ्ने रहर गर्नुभयो, मेरो आँखाबाट हर्षका आँसु आए। मैले सक्नुहुन्छ भने पढ्नुहोस् म सहयोग गर्छु भने। नभन्दै उहाँले ६ देखि एसएलसीसम्म सरासर पास गर्नुभयो। अहिले त आईए पढ्दै हुनुहुन्छ।

दुई छोरी हुर्काउँदै आफू पढ्दै संस्था पनि हाँक्ने श्रीमतीको क्षमता देख्दा अचम्म लाग्दैन

मैले उहाँसँग विवाह गर्नुको मुख्य कारण नै उहाँको क्षमता हो। सबैले चरिमायासँग विवाह गरिस् भने तेरो जीवन सुध्रन्छ भनेर हौसला दिएपछि मैले विवाह गरेको हुँ। तर उहाँ सुनेभन्दा पनि बढी क्षमतावान् हुनुहुन्छ। विवाह गरेका दिनदेखि उहाँ एक दिन पनि खाली बसेको मैले देखेको छैन।

चरिमाया बेचिएकी चेली हुन् भन्ने थाहा पाउँदा-पाउँदै विवाह गर्नुभएको हो

हो, उहाँ बाध्यतामा पर्नुभयो। अनेक दुःख पाउनुभयो। अर्काका कारण उहाँले २२ महिना त दुःख भोग्नुभयो, जीवनभरि भोग्नुपर्छ भन्ने छ ? मैले विवाह नगरे उहाँसँग कसले विवाह गर्छ भन्ने लाग्यो। मेरो घर मास्तिर -सिन्धुपाल्चोकको तल्लोबारी) पढेलेखेका बाहुनहरूको टोल छ। त्यो टोलमा मानिसहरूले जीवन भनेको सकारात्मक काम गर्नका लागि हो। मनपर्छ भने विवाह गर भनेर हौसला दिनुभयो। मैले उहाँको दुःख देखेर साथ दिएको हुँ।

तर विवाहपछि जसरी तपाईंलाई गाउँ बहिष्कार गरियो, त्यतिबेला त गलत गरिएछ भन्ने लाग्यो होला, होइन

बाहुन टोलले बहिष्कार गरेको होइन। पढेलेखेका मानिसहरू त सबै मेरै पक्षमा थिए। मेरो टोलमा भने चरिमायालाई जथाभावी भन्दा रहेछन्। म कामबाट फकर्ंदा उहाँ धरधरी रुनुहुन्थ्यो तर म आफ्नै कानले नसुनी र आँखाले नदेखी विश्वास नगर्ने मान्छे। एक दिन मेरा भाइहरूले मलाई खान दिएनन्। मेरी एक भाउजूले गर्भ बोकेकी चरिमायालाई नराम्रोसँग कुटिन्। त्यो देखेपछि मलाई लाग्यो, म गाउँमा बहिष्कृत भएको रहेछु। बाहुन टोलको डरले मात्र मेरा दाजुभाइले मलाई प्रत्यक्ष लखेट्न नसकेका रहेछन्। त्यसपछि हामी काठमाडौं आयौं। यति हुँदा पनि मैले बेचिएकी चेली विवाह गरेका कारण दुःख पाएँ भन्ने लागेन। बरु मुर्खहरूले कुरा बुझेनन् भनेर दया लाग्यो।

जीवनमा सबैभन्दा दुःख लागेको कुराचाहिँ के हो

जुन दिन उहाँले कुटाइ खानुभयो, त्यसको तीन दिनपछि उहाँको गर्भमा रहेको ६ महिनाको बच्चा खेर गयो। हामी जनजातिहरू नपढेका कारण कति गलत काम गर्छौं भनेर निकै दुःख लाग्यो। म मेरा सन्तान र श्रीमतीलाई जसरी पनि पढाउँछु भन्ने लाग्यो। खेर गएको छोरो थियो, तर त्यो शोकलाई पनि मैले राम्रै काम प्रयोग गरें। काठमाडौं ल्याएर श्रीमतीलाई पढाएँ। उहाँलाई चेलिबेटी बेचबिखनविरुद्धको काम गर्न सहयोग र हौसला दिएँ।

तपाईंलाई आफूले गरेको सबैभन्दा ठूलो पुण्यको काम के हो भन्ने लाग्छ

हाम्री कान्छी छोरी जन्मिएको ५५ दिन भएको थियो। चरिमाया सुत्केरी अवस्थामै हुनुहुन्थ्यो। त्यसैबेला संस्थाबाट उहाँलाई चेलिबेटी बेचबिखनसम्बन्धी तालिममा श्रीलंका जाने अवसर प्राप्त भयो। यो उहाँलाई अन्तर्राष्ट्रिय तालिमको अफर आएको पहिलो अवसर थियो। त्यही तालिमले उहाँको अन्तर्राष्ट्रिय पहिचान बन्न सक्थ्यो, तर त्यहाँ छोरी लिएर जान नदिने कुरा आयो। म लोग्नेमान्छे दुई महिने शिशुलाई स्याहार कसरी गरौं ? मैले हिम्मत नदिए उहाँ तालिमबाट वञ्चित हुने। मैले हिम्मतका साथ त्यो भार उठाए। गाईको दूधको व्यवस्था गरेर उहाँलाई पठाएँ। यता दुई दिनसम्म छोरी रोएको रोयै गरी। त्यसबेला मलाई हामी लोग्नेमान्छे कति लाचार हुँदा रहेछौं भन्ने लाग्यो। तेस्रो दिनदेखि बल्ल मलाई उसले चिनी। आज उहाँ जे-जस्तो स्थानमा हुनुहुन्छ, त्यसमा मेरो यो सहयोग पनि महत्वपूर्ण छ भन्ने लाग्छ।

श्रीमतीलाई तपाईं भनिरहनुभएको छ, किन

हामीमा बाहुनहरूको जस्तो संस्कार छैन। छोरा-छोरीले आमाबुवालाई तिमी भन्छन्। यदि मैले उहाँलाई तपाईं भन्ने हो भने छोरीहरूले पनि त्यही सिक्छन् भनेर तपाईं भनेको हुँ। अहिले त तिमी भन्नै आउँदैन। हामी दुवैले एक-अर्कालाई सम्मान गरेको देखेर आज छोरीहरू पनि संस्कारित छन्। फेरी मेरी श्रीमतीका कारण म पनि सम्मानित भएको छु। उहाँलाई मैले तपाईं भनेकै सुहाउँछ।

Written By:

अश्विनी कोइराला
Source: Saptahik

One Comment »

  1. Amrita July 21, 2011 at 3:27 am - Reply

    Dhanyabad tapai dubai jana ko sakaratmak tatha sanghrsha jivan ko lagi. Great JOB

Leave A Response »