जापानी इन्जिनियर स्याङ्जा खेतीमा

admin July 28, 2011 0
जापानी इन्जिनियर स्याङ्जा खेतीमा

स्याङ्जा, श्रावण १२ – नेपाली युवा रोजगारी खोज्दै बिदेसिँदै छन् । उनीहरूको रोजाइमा जापान उत्कृष्ट गन्तव्यमा पर्छ । जापानकै एक युवा इन्जिनियर भने नेपालमा आएर कृषि व्यवसाय गर्दै छन् । तीन वर्षदेखि स्थानीय कृषकहरू सँग मिलेर इकोसिया हिदेफुसाले कफी खेती गर्दै आएका हुन् ।

जापानमा मेकानिकल इन्जिनियर पढेका २८ वर्षीय उनी ६ महिना नेपालमा खेतीमै बिताउँछन् । बाँकी छ महिना उनी स्याङ्जामा उत्पादित कफीको जापानमा बिक्री प्रवर्द्धनमा लाग्छन् । उनले ३ वर्षअघि नेपाल घुम्न आउँदा कफी खेतीबारे थाहा पाएका थिए । ‘जापानमा कफीको माग अत्यधिक रहेकाले यसतर्फ मलाई चासो लाग्यो,’ उनले भने । केही वर्ष नेपालमा आएर कफी खेती गर्ने उनले त्यतिखेरै सोचे । जापान र्फकेको तीन महिनामै उनी खेती गर्न नेपाल आए ।

इकोसियाले मायटारीका बोधराज अर्यालसँग मिलेर पुतलीबजारमा कफी नर्सरीसमेत स्थापना गरेका छन् । ‘स्थानिय कृषकसँग मिलेर आगामी वर्ष १ सय रोपनीमा कफी नर्सरी गर्ने योजनामा छु,’ उनले भने, ‘त्यसका लागि जग्गाको खोजी भइरहेछ ।’  व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका उनलाई जापानमा इन्जिनियरको जागिरभन्दा नेपालको कृषक पेसा धेरै राम्राे लाग्न थालेको छ । ‘यहाँका कृषकको मेहनतले मलाई कृषक बन्न प्रेरणा मिलेको हो,’ उनले भने ।

उनले गत वर्ष ५ टन कफी जापान लगेका थिए । अब अझ बढी लैजाने योजना छ । ‘व्यापारीलाई कफी बेच्ने गरेको छु,’ उनले भने, ‘बजार विस्तार गर्न सस्तै दिएको छु ।’ त्यहाँ कफी प्रतिकिलो नेपाली ८ सयदेखि १ हजारसम्ममा बिक्री हुने गर्छ ।

by: जानु पंगेनी

Courtesy: EKantipur

 

Leave A Response »